२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लद्दाखमा तनाव: प्रदर्शनकारीद्वारा बीजेपी कार्यालय र प्रहरीको गाडीमा आगजनी

Image : ANI

पूर्ण राज्यको दर्जा र संवैधानिक संरक्षणको माग गर्दै हप्तौंदेखि जारी शान्तिपूर्ण आन्दोलनले बुधबार लद्दाखमा हिंसात्मक रूप लिएको छ।

लेहमा हजारौंको संख्यामा सडकमा उत्रिएका प्रदर्शनकारीहरूले भारतीय जनता पार्टी (बीजेपी) को कार्यालय र प्रहरीको गाडीमा आगजनी गरेका छन् भने प्रहरीसँग ठाउँ-ठाउँमा झडप भएको छ।

केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको मान्यता र संविधानको छैटौं अनुसूचीमा समावेश गर्नुपर्ने माग राख्दै सामाजिक अभियन्ता सोनम वाङचुक विगत ३५ दिनदेखि आमरण अनशनमा छन्।

बुधबार अनशनरत दुई जनाको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएसँगै लेहका युवाहरू आक्रोशित बनेका थिए।

लेहमा घोषित बन्दका क्रममा सडकमा उत्रिएका हजारौं युवाहरूले लेह हिल काउन्सिलको भवनमा ढुङ्गामुढा समेत गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बीजेपीका प्रदेश अध्यक्ष ताशी ग्याल्सनले आफ्नो पार्टी कार्यालयमा आगजनी भएको पुष्टि गर्दै लेहको अवस्था तनावपूर्ण रहेको बताएका छन्।

आफ्नो अनशनस्थलबाटै भिडियो सन्देश जारी गर्दै सोनम वाङचुकले युवाहरूलाई हिंसाको बाटो नरोज्न अपिल गरेका छन्। ‘यो एक प्रकारको जेन-जी क्रान्ति हो। पाँच वर्षदेखि यहाँका युवाहरू बेरोजगार छन् र उनीहरूलाई लोकतान्त्रिक मञ्चबाट बाहिर राखिएको छ,’ उनले भने, ’तर कुनै पनि परिस्थितिमा हिंसाको बाटो अपनाउनु हुँदैन। यस्तो मुर्खता बन्द गर्नुहोस्।’

जम्मू-कश्मीरकी पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीले घटनाप्रति प्रतिक्रिया दिँदै यो भिडियो कश्मीरको नभई शान्त मानिने लद्दाखको भएको बताइन्।

उनले भनिन्, ‘लामो समयदेखि शान्तिपूर्ण प्रदर्शनका लागि चिनिएको लेहमा अब हिंसात्मक प्रदर्शन हुनु खतरनाक सङ्केत हो। मानिसहरूले धैर्य गुमाएका छन् र आफूलाई ठगिएको महसुस गरिरहेका छन्।’

समाचार एजेन्सीहरूका अनुसार, केन्द्र सरकार र लद्दाखका प्रतिनिधिहरूबीच अक्टोबर ६ मा वार्ताको नयाँ चरण तय भएको छ।

प्रकाशित: ८ आश्विन २०८२ १७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App