इजरायली आक्रमणमा परेर आफ्नो राष्ट्रिय सुरक्षा प्रमुख अलि लारिजानीको मृत्यु भएको इरानले पुष्टि गरेको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले विज्ञप्ति जारी गरेर उनको मृत्यु भएको जनाएको हो। इजरायलले इरानका सुरक्षा प्रमुखको मृत्यु भएको मङ्गलबार घोषणा गरेपनि यसबारे इरानले केही बोलेको थिएन।
लारिजानीको मृत्युबाट हौसिएको इजरायली सेनाले आफ्ना पिताको मृत्युपछि फेब्रुअरी २८ मा सत्ता सम्हालेका सर्वोच्च नेता मोजतबा खामेनीलाई पनि समाप्त गर्ने प्रतिबद्धता जनाएको छ।
इजरायलले आफ्नो हवाइ आक्रमणबाट सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको र नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई खोज्ने र निष्प्रभावीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
करिब तीन हप्ता पहिले अमेरिका-इजरायल आक्रमणमा मारिएका लामो समयदेखि शासन गरिरहेका दिवङ्गत नेता अयातोल्लाह अली खामेनीसँग लारिजानीको निकट सम्बन्ध रहेको र इरानी युद्ध रणनीतिमा समेत विशेष भूमिका रहेको थियो।
खामेनीको अमेरिका-इजरायली आक्रमणमा मृत्यु भएकोसँगै मध्य पूर्वमा युद्ध भड्किएको थियो।
प्रकाशित: ४ चैत्र २०८२ १९:३० बुधबार

