भारतको हरियाणास्थित फरीदाबादको एक निजी विद्यालयमा दिनदहाडै एक महिला शिक्षिकाको निर्मम हत्या भएको छ। विद्यालय नजिकै रहेको प्रहरी चौकीदेखि केही मिटरको दूरीमा यो घटना भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
सिकरौना गाउँकी शिक्षिका सन्ध्या पढाउन भनेर सधैंझैं सोमबार विद्यालय गएकी थिइन्। केही समयपछि अनुहारमा कपडा लगाएका एक युवक विद्यालयमा पसेर सन्ध्यालाई भेट्न माग गर्छन्। सन्ध्या गेटतिर पुग्दा उनले घाँटीमा छुरा प्रहार गर्छन्। बच्न खोजेकी सन्ध्यामाथि उनले लगातार आक्रमण जारी राख्छन्।
विद्यालयमा जडान गरिएको सीसीटीभी फुटेजमा युवक केही समय विद्यालयभित्र पर्खिरहेको देखिन्छ। सन्ध्या देखिनासाथ उनले समातेर घिसार्दै बाहिर ल्याउँछन् र छुरा घोप्न थाल्छन्। सीसीटीभीमा ३२ सेकेन्डको समयमै ३४ पटक छुरा प्रहार गरेर ती युवकले सन्ध्याको हत्या गरेको देखिन्छ।
सन्ध्याको चिच्याहट सुनेर विद्यालयका प्रशासक घटनास्थलतर्फ दौडिन्छन् र उनलाई बचाउने प्रयास गर्छन्। तर छुरा बोकेको ती युवक उनीहरूतर्फ दौडिएर धपाउँछन् र विद्यालय परिसरबाट फरार हुन्छन्।
विद्यालयभित्रै भएको यो घटनाको दृश्य सीसीटीभीमा कैद भएको छ, जसमा नकाबधारी युवकको गतिविधि स्पष्ट देखिन्छ। विद्यालयमा एकाएक भएको हिंसात्मक आक्रमणपछि विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दा त्रसित भएका छन्।
घटनापछि प्रहरीले युवकविरुद्ध मुद्दा दर्ता गरेको छ। सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा अभियुक्तको पहिचान र खोजी भइरहेको जनाइएको छ।
प्रकाशित: १९ श्रावण २०८३ १०:०१ मंगलबार





