१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

६ वर्षीय बालकको गोली लागेकी शिक्षिकालाई एक करोड डलर क्षतिपूर्ति

अमेरिकाको भर्जिनिया राज्यमा एक निर्णायक मण्डलले छ वर्षीय विद्यार्थीले गोली हानेर घाइते बनाएकी पूर्वशिक्षिका एबी ज्वर्नरलाई एक करोड अमेरिकी डलर क्षतिपूर्ति दिने फैसला सुनाएको छ।

जनवरी २०२३ मा रिचनेक प्राथमिक विद्यालयको कक्षाकोठामा पढाइरहेकी २८ वर्षीया ज्वर्नरलाई छ वर्षीय विद्यार्थीले गोली हानेका थिए। गोली मुटु छेउबाट छातीमा अड्किएको थियो। उनले दुई हप्ता अस्पताल बिताएकी थिइन् र छ वटा शल्यक्रिया गराएकी थिइन्। उनको देब्रे हात अझै पूर्ण रूपमा चल्दैन।

ज्वर्नरले विद्यालयकी पूर्वसहायक प्रधानाध्यापक एबोनी पार्करविरुद्ध चार करोड डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेकी थिइन्। बिहीबार निर्णायक मण्डलले पार्करलाई जिम्मेवार ठहर गर्दै ज्वर्नरको पक्षमा फैसला सुनाएको हो।

ज्वर्नरका वकिलहरूले अदालतमा जनाए अनुसार गोलीबारी हुनुभन्दा केही घण्टा अघि नै स्कुलका कर्मचारीहरूले छ वर्षीय बालकसँग कक्षाकोठामा बन्दुक छ भन्नेबारे बारम्बार चेतावनी दिएका थिए। तर पार्करले ती चेतावनीलाई बेवास्ता गरेको र कुनै कारबाही नगरेको बयानमा बताइएको छ।

ज्वर्नरका वकिलले फैसलापछि यस निर्णयले स्कुलमा भएको घटना गलत थियो र सहन गरिने छैन, स्कुलमा सुरक्षा पहिलो चिन्ताको विषय हुनुपर्छ भन्ने सन्देश दिएको बताएका छन्। एजेन्सी

प्रकाशित: २१ कार्तिक २०८२ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App