१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानको नाम लिएर भारतका विदेशमन्त्रीले भने : हामी ‘दलाल राष्ट्र’ होइनौँ

फाइल तस्बिर : विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छलफल गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी।

भारतका विदेशमन्त्री एस जयशंकरले इरान र अमेरिकाबिच जारी तनावमा पाकिस्तानको कूटनीतिक सक्रियतालाई लिएर जवाफ दिएका छन्। उनले अन्तर्राष्ट्रिय विवादहरूमा भारतले आफूलाई मध्यस्थकर्ता वा ‘दलाल’ को रूपमा प्रस्तुत नगर्ने स्पष्ट पारेका हुन्।

बुधबार नरेन्द्र मोदी सरकारले मध्यपूर्वको संकट र इरान-अमेरिका तनावबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको थियो। बैठकमा विदेशमन्त्री एस जयशंकरले भारत ‘दलाल राष्ट्र’ नभएको स्पष्ट पार्दै मध्यस्थताका नाममा पाकिस्तानले गरिरहेको कूटनीतिक सक्रियताको आलोचना गरेका हुन्।

बैठकमा जयशंकरले छिमेकी राष्ट्र पाकिस्तानले विगतदेखि नै आफूलाई द्वन्द्वमा घुसाउन खोज्ने गरेको सम्झाएका थिए। उनले सन् १९८१ को उदाहरण दिँदै पाकिस्तानले अमेरिका र इरानबिच मध्यस्थता गर्ने नाममा आफ्नो बाटो तय गर्न खोजेको बताए। जयशंकरका अनुसार प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीमा ‘युद्धले सबैलाई हानि पुर्‍याइरहेको र यसको द्रुत समाधान आवश्यक रहेको’ कुरामा जोड दिएका थिए।

रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको बैठकमा विपक्षी सांसदहरूले इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको हत्यामा भारतको मौनता, तेल आपूर्तिको सुरक्षाबारे प्रश्न उठाएका थिए। जवाफमा पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले भारतसँग पेट्रोल र डिजेलको पर्याप्त भण्डार रहेको र आपूर्तिका लागि ४१ देशसँग समन्वय भइरहेको जानकारी दिए।

बैठकमा सरकारले इरानी पूर्व सर्वोच्च नेताको निधनमा शोक व्यक्त गर्न ढिलाइ गरेको विपक्षी आरोपलाई पनि खण्डन गरेको थियो। सरकारी पक्षले खाडी क्षेत्रमा रहेका भारतीयको सुरक्षा र ऊर्जा आवश्यकता पूरा गर्नु नै आफ्नो प्रमुख चासो रहेको र त्यसमा सरकार सफल भएको दाबी गरेको छ।

यद्यपि, कांग्रेस लगायतका विपक्षी दलहरूले सरकारको जवाफ ‘असन्तोषजनक’ रहेको भन्दै संसद्‌मा यस विषयमा विस्तृत बहस हुनुपर्ने माग गरेका छन्। विपक्षी नेताहरूले ‘पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेल्दा भारत मौन दर्शक मात्र बनेको’ आरोप लगाउने गरेका छन्। 

संसदीय मामिला मन्त्री किरेन रिजिजुले भने चुनौतीपूर्ण परिस्थितिमा सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिँदै विपक्षीले परिपक्वता देखाउनुपर्नेमा जोड दिएका थिए। एजेन्सी 

प्रकाशित: १२ चैत्र २०८२ ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App