१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा उपलब्ध गराउन तथा जीवनयापनको बढ्दो खर्च नियन्त्रण गर्न माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन्। सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन्। 

विद्यार्थीहरूले केही सातादेखि विद्यालय कब्जा गर्ने र पाल टाँगेर शिविर स्थापना गरी विरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी नेतृत्वको सरकारको पुनःशस्त्रीकरण नीति, शिक्षामा बजेट कटौती र बढ्दो महँगीको विरोध गरेका छन् । ट्रक चालक र किसानले पनि इन्धनको मूल्य वृद्धि तथा जीवनयापनको लागतविरुद्ध प्रदर्शन गरिरहेका छन्। 

रोमस्थित काभोर विद्यालयकी विद्यार्थी सङ्गठनकी प्रवक्ता १८ वर्षीया लौरा टेरेसीले शुक्रबार ठूलो सङ्ख्यामा विद्यार्थी सडकमा उत्रने र विद्यालय अवरुद्ध गर्ने बताइन्। मिलानमा अक्टोबर १७ र १८ मा युवाहरूले सवारीसाधनमा आगजनी र पसल लुटपाट गरेकाले अधिकारीहरू पुनः हिंसा भड्किन सक्नेमा चिन्तित छन्। 

प्राध्यापक रोजारियो फोर्लेन्जाका अनुसार आर्थिक, सामाजिक तथा सांस्कृतिक सङ्कटले युवाहरूमा अनिश्चितता र भविष्यप्रतिको निराशा बढाएको छ। राजनीतिक रूपमा पर्याप्त प्रतिनिधित्व नपाएको र नेतृत्वले आफ्ना समस्या बेवास्ता गरेको उनीहरूको गुनासो छ। 

यसैबीच, वामपन्थी श्रमिक सङ्गठन युएसबीले शुक्रबार आमहडताल आह्वान गरेको छ। सरकारले प्रदर्शन नियन्त्रण गर्न नाबालिगलाई हिरासतमा लिने प्रक्रिया सहज बनाउनुका साथै सार्वजनिक जमघटसम्बन्धी कानुन कडा पारेको छ। 

मध्यपूर्वको युद्धका कारण इन्धन महँगिएपछि प्रभावित ट्रक चालक, किसान र माछा मार्नेहरूका लागि सरकारले १७ करोड ५२ लाख युरोको सहायता प्याकेज स्वीकृत गरेको छ। सन् २०२७ को प्रस्तावित बजेटमा ३० वर्षमुनिका श्रमिकलाई वार्षिक दुई हजार ५०० युरो बोनस दिने योजना पनि समेटिएको छ। 

प्रधानमन्त्री मेलोनीले सरकारी उपायले राज्यबाट उपेक्षित महसुस गरिरहेका युवालाई सहयोग पुग्ने आशा व्यक्त गरेकी छन्। तर, तोडफोडमा संलग्न हुनेहरूका लागि ती सुविधा नभएको उनले स्पष्ट पारेकी छन्। 

मनोचिकित्सक म्याटिओ लान्सिनीले विद्यालयहरू युवाका आवश्यकताबाट टाढिएको बताउँदै पेन्सन प्रणालीभन्दा युवाको आवश्यकता केन्द्रमा राखेर शैक्षिक प्रणालीमा आधारभूत परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जाललाई मात्र दोष दिएर युवाको असन्तुष्टिको वास्तविक कारणबाट उम्कन खोजिएको उनको टिप्पणी छ।  

प्रकाशित: १३ कार्तिक २०८३ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App