भुटानको उत्तरी गासा जिल्लास्थित सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले प्रसिद्ध गासा छाचु तातोपानी परिसर पूर्ण रूपमा बगाएको छ । बाढीले पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुर्याएपछि उक्त सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको छ ।
डेली भुटानले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार मोछु नदी किनारमा रहेको तातोपानी परिसर बाढीले बगाएको हो । घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा मूल्यांकन भइरहेको अधिकारीहरूले जनाएका छन् ।
बाढीले पुनाखा–गासा सेकेन्डरी नेसनल हाइवेअन्तर्गत ३१.८५ किलोमिटर नजिकको सडक खण्डसमेत पूर्ण रूपमा बगाएको छ । सडक क्षतिग्रस्त भएपछि अर्को सूचना जारी नभएसम्मका लागि यातायात बन्द गरिएको छ । यात्रुहरूलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए प्रस्थानअघि वैकल्पिक मार्ग तथा यातायातको व्यवस्था सुनिश्चित गर्न आग्रह गरिएको छ ।
गत बिहीबार, अक्टोबर २९ को साँझ भुटानको उत्तरी गासा जिल्लास्थित लुङ्गोको लाया गेओगमा वाकिला हिमाल नजिक रहेको सिन्ताफु तालमा हिमताल विस्फोट भएको बताइएको छ । डेली भुटानका अनुसार बिहीबार राति करिब ८ः१५ बजे बाढीको पानी तक्त्सेमाखाङ पुगेको थियो ।
बाढीले दुर्गम उच्च पहाडी बस्ती लायासम्म पुग्ने सडकको एक खण्डमा क्षति पुर्याएपछि उक्त मार्ग पनि बन्द गरिएको थियो । सम्भावित जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सावधानीस्वरूप सुरक्षित स्थानमा सारिएको थियो भने स्थानीयलाई सचेत गराउन चेतावनीका साइरनसमेत बजाइएको थियो । अक्टोबर ३० को बिहानसम्म मानवीय क्षति वा कोही घाइते भएको विवरण प्राप्त नभएको जनाइएको छ ।
तालबाट पानी बाहिरिनुको वास्तविक कारण, बाहिरिएको पानीको परिमाण र बाढीबाट भएको क्षतिको पूर्ण विवरण भने पुष्टि हुन बाँकी छ । अधिकारीहरूले तालको अवस्था र तल्लो तटीय क्षेत्रमा परेको प्रभावबारे निरन्तर अनुगमन तथा मूल्यांकन गरिरहेका छन् ।
के हो हिमताल विस्फोट ?
हिमतालमा जम्मा भएको पानीलाई रोक्ने प्राकृतिक बाँध अर्थात् मोरेन कमजोर हुँदा वा भत्किँदा तालको पानी एक्कासि बाहिर निस्कने घटनालाई हिमताल विस्फोट भनिन्छ । यस्तो घटनापछि उत्पन्न बाढी तीव्र गतिमा पहाडी खोँच हुँदै तलतिर बग्न सक्छ । पानीसँगै हिलो, ढुङ्गा र अन्य अवशेषसमेत बगाएर लैजाने भएकाले यसले सडक, पुल, बस्ती तथा नदी किनारका संरचनामा ठूलो क्षति पुर्याउन सक्छ ।
सिन्ताफु तालबाट निस्कने पानी मोछु नदीमा मिसिन्छ । उक्त नदी गासा र पुनाखा हुँदै दक्षिणतर्फ बग्छ । पुनाखामा मोछु र फोछु नदी एकआपसमा मिसिएर पुनात्साङछु नदी बन्छ । यही नदी भारत प्रवेश गरेपछि संकोश नदीका रूपमा चिनिन्छ ।
यस कारण सिन्ताफु तालमा भएको घटनाले भुटानको तल्लो तटीय क्षेत्रसँगै भारतका केही क्षेत्रमा पनि बाढीको जोखिम बढाएको छ ।
जोखिमयुक्त हिमतालको सूचीमा सिन्ताफु
डेली भुटानका अनुसार सिन्ताफु ताल मोछु नदीको मुहान क्षेत्रमा अवस्थित उच्च हिमाली हिमताल हो । भुटानको आधिकारिक सूचीमा यसलाई सम्भावित जोखिमयुक्त १७ हिमतालमध्ये एकका रूपमा समावेश गरिएको छ ।
यद्यपि, जोखिमयुक्त सूचीमा समावेश हुनुको अर्थ तालमा हिमताल विस्फोट निश्चित छ भन्ने होइन । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नियमित निगरानी र पूर्वतयारी आवश्यक रहेको यसले संकेत गर्छ ।
भुटानी विज्ञहरूले सन् २०२३ को मेदेखि जुन महिनासम्म सिन्ताफु तालको अध्ययन गरेका थिए । त्यस क्रममा मुख्य तथा माथिल्लो तालको मापन, आसपासको भौगोलिक अवस्था, प्राकृतिक बाँधको परीक्षण र तालमा पानी आपूर्ति गर्ने हिमनदीको अवस्थाबारे अध्ययन गरिएको थियो । सम्भावित हिमतालजन्य बाढीको जोखिम न्यूनीकरण तथा निगरानी प्रभावकारी बनाउन त्यस क्षेत्रमा उपकरणसमेत जडान गरिएको जनाइएको छ ।
भारतमा पनि बाढीको चेतावनी
सिन्ताफु तालमा हिमताल विस्फोट भएको खबर सार्वजनिक भएपछि छिमेकी भारतमा पनि सावधानीका उपाय अपनाइएको छ । विशेषगरी पश्चिम बंगालको उत्तर बंगाल क्षेत्र तथा आसाममा संकोश नदी र यसका सहायक नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
यसैबीच, भारतको केन्द्रीय जल आयोग (सीडब्लूसी) ले सिन्ताफु तालमा भएको हिमताल विस्फोटपछि सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै पश्चिम बंगाल र आसामका लागि विशेष चेतावनी जारी गरेको छ ।
आयोगले पश्चिम बंगालको अलिपुरद्वार र आसामको धुब्री जिल्लामा नदीको जलस्तर अचानक बढ्न सक्ने चेतावनी दिएको हो । दुवै राज्यलाई सतर्क अवस्थामा राख्दै स्थानीय प्रशासनलाई संकोश नदीको जलस्तर र बहाव नजिकबाट निगरानी गर्न तथा आवश्यक सावधानीका उपाय अपनाउन निर्देशन दिइएको छ ।
तालबाट बगेको पानीको परिमाण र त्यसले तल्लो तटीय क्षेत्रमा पार्न सक्ने प्रभावबारे थप विवरण आउन बाँकी रहेकाले सम्बन्धित निकायले निगरानीलाई तीव्र बनाएका छन् ।
प्रकाशित: १३ कार्तिक २०८३ १४:३८ शुक्रबार





