२९ आश्विन २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पनामामा भूकम्पपछि आपत्काल घोषणा

शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ। यसैबीच, मङ्गलबार बिहान पनामामा ६ दशमलव १ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ। 

यसअघि शुक्रबार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १४७ वटा परकम्प आएका थिए र तीमध्ये केही ६ दशमलव १ र ६ दशमलव ६ म्याग्निच्युडसम्मका थिए। भूकम्पको केन्द्र लस सान्टोस प्रान्तको टोनोसीबाट करिब ३९ किलोमिटर उत्तरपश्चिममा रहेको थियो। 

सबैभन्दा बढी क्षति दक्षिणी तटीय क्षेत्रको कोक्ले प्रान्तमा भएको छ भने पनामा सहरमा पनि क्षति पुगेको छ। प्रारम्भिक विवरणमा केही मानिस सामान्य घाइते भएको जनाइएको थियो। 

राष्ट्रपति जोस राउल मुलिनोले राहत कार्य समन्वय गर्न, स्रोतसाधन व्यवस्थापन गर्न र प्रभावित समुदायका आवश्यकता सम्बोधन गर्न आयोग गठन गर्न निर्देशन दिएका छन् । सरकारले चन्दा सङ्कलन केन्द्र स्थापना गर्नुका साथै प्रभावित क्षेत्रका अस्पतालमा बिरामीलाई बाहिर निकालेर उपचारको व्यवस्था गरेको छ। 

भूकम्पपछि दुई मेट्रो लाइनको सेवा स्थगित गरिएको थियो भने देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल सावधानीका लागि अस्थायी रूपमा बन्द गरी पछि पुनः सञ्चालनमा ल्याइएको थियो। अमेरिकी दूतावासले मध्य तथा दक्षिण अमेरिकाका नौ देशमा परकम्प र सुनामीको सम्भावित जोखिमबारे चेतावनी दिएको थियो। अमेरिकी सुनामी चेतावनी प्रणालीले पछि खतरा नरहेको जनाएको थियो। 

प्रकाशित: २७ आश्विन २०८३ १७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App