नेपालसहित ४० देशका नागरिकका लागि श्रीलंका सरकारले पर्यटक भिसा नलाग्ने घोषणा गरेको छ। अब नेपाली पर्यटकहरूका लागि अब श्रीलंकाको भ्रमण निकै सस्तो र सहज हुने भएको छ।
काठमाडौंस्थित श्रीलंकाली दूतावासले जारी गरेको परिपत्रअनुसार यो नयाँ नीति सन् २०२६ मे २५ देखि नै लागू भइसकेको छ। नयाँ व्यवस्थाअनुसार श्रीलंका भ्रमणमा जाने नेपालीहरूले ३० दिनको ‘डबल-एन्ट्री’ पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अटोराइजेसन-ईटीए) पूर्ण रूपमा निःशुल्क पाउनेछन्। यो भिसा अवधिभित्र पर्यटकहरूले एक पटक श्रीलंका छोडेर पुनः फर्कन पाउने भए पनि भिसाको अवधि भने सुरुदेखि रिसेट नभई बाँकी रहेका दिनहरूका लागि मात्र मान्य हुनेछ।
यो निःशुल्क सुविधा लिनका लागि पर्यटकहरूले श्रीलंका पुग्नुअगावै आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिई आफ्नो ईटीए अनुमति लिनुपर्नेछ। मे २५ को मितिभन्दा अगाडि नै भिसा आवेदन दिइसकेका व्यक्तिहरूले भने आफ्नो शुल्क फिर्ता दाबी गर्न पाउने छैनन्। शुल्करहित भिसाले आगन्तुकहरूको आर्थिक बोझ कम गर्ने उद्देश्य राखेको भए पनि देश प्रवेशका लागि गरिने नियमित सुरक्षा स्क्रिनिङ प्रक्रिया भने पहिले जस्तै नै कायम रहने दूतावासले स्पष्ट पारेको छ।
नेपालसहित यो विशेष सुविधा पाउने अन्य देशहरूमा भारत, चीन, मलेसिया, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, अस्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानडा र बेलायत रहेका छन्। यसै गरी फ्रान्स, जर्मनी, इटाली, स्पेन र रसियाजस्ता कयौँ युरोपेली मुलुकहरूका साथै साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स र कुवेत जस्ता खाडी राष्ट्रका नागरिकले पनि यो सुविधा पाउनेछन्। माल्दिभ्स, सेशेल्स र सिंगापुरका नागरिकका लागि भने यो भिसा शुल्क पहिलेदेखि नै माफ गरिएको थियो, जसमा माल्दिभ्सका नागरिकले पारस्परिक सम्झौताअनुसार ९० दिनको भिसा पाउँछन्।
आफ्नो अर्थतन्त्र सुदृढ गर्न पर्यटन क्षेत्रलाई मुख्य आधार बनाएको श्रीलंकाले विदेशी लगानी र आधुनिक पूर्वाधारमा पनि जोड दिँदै आएको छ। यसै क्रममा गत वर्ष कोलम्बोमा त्यहाँकै पहिलो एकीकृत रिसोर्ट ‘सिटी अफ ड्रीम्स श्रीलंका’ को उद्घाटन गरिएको थियो। यसका साथै पर्यटन र मनोरञ्जन क्षेत्रलाई अझ बढी व्यवस्थित र कानुनी दायरामा ल्याउनका लागि आगामी ३० जुन २०२६ सम्ममा नयाँ गेमिङ नियामक ‘जुवा नियामक प्राधिकरण’ (जीआरए) स्थापना गर्ने प्रक्रियामा समेत श्रीलंका सरकार लागिपरेको छ।
हिन्द महासागरको मोती मानिने श्रीलंका वन्यजन्तु, सुन्दर समुद्री तट, पदयात्रा र सांस्कृतिक धरोहरका लागि विश्वभर प्रसिद्ध छ। इतिहासप्रेमीहरूका लागि त्यहाँ युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र सहर अनुराधापुरा, प्राचीन सहर सिगिरिया र ऐतिहासिक गाले सहर मुख्य आकर्षणका रूपमा रहेका छन्।
त्यसै गरी प्रकृति र पदयात्रा मन पराउनेहरूका लागि मध्य उच्च पहाडी भूभाग, चिया बगान र सांस्कृतिक दृश्यहरू हुँदै जाने प्रसिद्ध ३०० किलोमिटर लामो ‘पेको ट्रेल’ एउटा उत्कृष्ट गन्तव्य हो। वन्यजन्तुप्रेमीहरूले उडावालावे राष्ट्रिय निकुञ्जमा हात्ती र याला राष्ट्रिय निकुञ्जमा चितुवाहरू हेर्न सक्नेछन् भने अनुकूल मौसममा त्यहाँको तटबाट ह्वेल माछासमेत अवलोकन गर्न सकिन्छ। एजेन्सीको सहयोगमा
प्रकाशित: १३ जेष्ठ २०८३ ०७:४६ बुधबार





