६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई मृ'त्युदण्डको सजाय

बंगलादेशको अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।

ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२४ को अगस्टमा भएको विद्यार्थी आन्दोलनका क्रममा भएको हत्या र दमनको मुख्य योजनाकारका रूपमा उनीहरूलाई दोषी ठहर गरेको हो।

जनआन्दोलनपछि सत्ताच्युत भएकी हसिना विगत १५ महिनादेखि भारतमा शरण लिइरहेकी छिन् र उनको अनुपस्थितिमा नै यो फैसला सुनाइएको हो। फैसला सार्वजनिक भएसँगै बंगलादेशमा हिंसा भड्किएको छ र सरकारले देशभर उच्च सतर्कता अपनाएको छ।

अदालतको निर्णयपछि हुनसक्ने हिंसात्मक प्रदर्शनलाई रोक्न राजधानी ढाकामा १५,००० सुरक्षाकर्मी परिचालन गरिएको छ। ढाका महानगरीय प्रहरीले हिंसात्मक प्रदर्शनकारीलाई देख्नेबित्तिकै गोली चलाउन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

शनिबार र आइतबार गरी ढाकामा कम्तीमा दुईवटा बसमा आगजनी गरिएको थियो।

न्यायाधिकरणले हसिना र कमाललाई हत्याको आदेश दिएको र त्यसका लागि उक्साएकोमा दोषी ठहर गर्दै बंगलादेशमा रहेको उनीहरूको सम्पूर्ण सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ।

हसिनामाथि लागेका मुख्य ५ आरोप

हत्या र दमन: प्रहरी र सत्तारुढ दल अवामी लिगका कार्यकर्तालाई आम नागरिकमाथि आक्रमण गर्न उक्साएको, हिंसालाई बढावा दिएको र रोक्न असफल भएको।

घातक हतियारको प्रयोग: विद्यार्थी प्रदर्शनकारीहरूलाई दबाउन हेलिकप्टर र ड्रोनजस्ता घातक हतियार प्रयोग गर्न आदेश दिएको।

विश्वविद्यालयका छात्रको हत्या: जुलाई १६ मा बेगम रोकेया विश्वविद्यालयका छात्र अबू सैयदको हत्याको आदेश दिएको, षड्यन्त्र रचेको र अपराधमा संलग्न रहेको।

निहत्था प्रदर्शनकारीको हत्या: अगस्ट ५ मा ढाकाको चान्खारपुलमा ६ जना निहत्था प्रदर्शनकारीको हत्या गर्न सीधा आदेश दिएको, उक्साएको र षड्यन्त्र गरेको।

गोली हानी शव जलाएको: पाँच प्रदर्शनकारीलाई गोली हानी हत्या गरेको, एकलाई घाइते बनाएको र तीमध्ये केहीको शव जलाएको तथा एक प्रदर्शनकारीलाई जिउँदै जलाउने जस्तो क्रूर कार्य गरेको।

प्रकाशित: १ मंसिर २०८२ १४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App