चीनको हेनान प्रान्तकी ३१ वर्षीया महिलाले १५ दिनसम्म पानीबाहेक केही नखाई करिब २० किलो तौल घटाएपछि गम्भीर स्वास्थ्य समस्या देखिएको छ।
अत्याधिक उपवासका कारण उनको मस्तिष्कमा समस्या देखिएको र हिँड्न तथा सम्झनसमेत कठिनाइ भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। नाम सार्वजनिक नगरिएकी ती महिलाको उचाइ १६० सेन्टिमिटर थियो। उनको तौल पहिले ७० किलो रहेको र अत्याधिक खानपान नियन्त्रण गरेपछि केही हप्तामै २० किलो तौल घटेको बताइएको छ।
झेङझोउ विश्वविद्यालयको पहिलो सम्बन्धन प्राप्त अस्पतालका न्युरोलोजिस्ट सन गुइफाङका अनुसार महिलामा वेर्निकको इन्सेफालोप्याथी (गम्भीर मस्तिष्क विकार) देखिएको हो। यो शरीरमा आवश्यक भिटामिन र फोलिक एसिडको कमी हुँदा देखिन सक्ने समस्या हो।
यसका कारण अलमल हुने, हिँड्दा शरीरको सन्तुलन मिलाउन कठिन हुने, आँखाको चालमा समस्या आउने र स्मरणशक्ति कमजोर हुनेजस्ता लक्षण देखिन सक्छन्। चिकित्सक सनका अनुसार ती महिलाको हिँडाइ पेन्गुइनको जस्तै भएको थियो। यस्तो समस्या पूर्ण रूपमा निको नहुन पनि सक्ने उनले चेतावनी दिएका छन्।
ती महिलाले आफूले ‘बिगु’ अभ्यास गरिरहेको चिकित्सकलाई बताएकी थिइन्। ‘बिगु’ ताओवादी परम्परासँग जोडिएको उपवासको एउटा विधि हो। यसको अर्थ सामान्य रूपमा अन्न वा खाना नखाने भन्ने हुन्छ।
यस अभ्यासमा शरीरलाई खानाबाट होइन, ‘क्यूई’ भनिने ऊर्जाबाट चलाउन सकिने विश्वास गरिन्छ। यो परम्परा चीनमा लामो समयदेखि रहेको मानिन्छ। तर पछिल्लो समय सामाजिक सञ्जालमार्फत पनि ‘बिगु’ र लामो समय उपवास बस्ने अभ्यासबारे प्रचार भइरहेको छ। कतिपयले तौल घटाउन वा शरीर शुद्ध पार्न यस्तो विधि अपनाउने गरेका छन्।
सामाजिक सञ्जालमा ‘बिगु’ सम्बन्धी सामग्री निकै लोकप्रिय रहेको रिपोर्टमा उल्लेख छ। केही प्रयोगकर्ताले लामो समय पानी र भिटामिनका चक्की मात्रै सेवन गरेर तौल घटाएको अनुभवसमेत साझा गरेका छन्। लामो समयसम्म खाना नखाँदा गम्भीर स्वास्थ्य समस्या देखिएका घटना चीनमा यसअघि पनि सार्वजनिक भएका छन्।
सन् २०२० मा उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तका २६ वर्षीय पुरुषले ५२ दिनसम्म पानी मात्रै पिएपछि ज्यान गुमाएका थिए। मृत्यु हुनुभन्दा दुई दिनअघि उनलाई स्मरणशक्ति र व्यवहारसँग सम्बन्धित गम्भीर समस्या देखिएको थियो।
त्यस्तै, गत वर्ष झेजियाङ प्रान्तकी एक महिलाले एक सातासम्म पानी र ‘ऊर्जा चक्की’ मात्रै सेवन गरेपछि करिब पाँच किलो तौल घटाएकी थिइन्। तर लामो उपवासका कारण उनको आन्द्रामा गम्भीर क्षति पुगेको र रक्तप्रवाहमा ब्याक्टेरियाको संक्रमण भएको पाइएको थियो। उनको शरीरमा पोटासियमको मात्रा निकै कम भएर जीवन जोखिममा परेको थियो।
यस्ता घटनापछि अत्याधिक उपवास र ‘बिगु’ जस्ता अभ्यासलाई सामाजिक सञ्जालमा प्रवर्द्धन गर्न रोक लगाउनुपर्ने आवाजसमेत उठ्दै आएको छ।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्तो अभ्यासलाई ‘परम्परागत संस्कृति नभई अस्वस्थ जीवनशैली’ भनेका छन्। अर्का प्रयोगकर्ताले लामो समय खाना नखाने अभ्यासप्रति आश्चर्य व्यक्त गर्दै आफूले एक दिनमा एक पटक पनि खाना छोड्न नसक्ने बताएका छन्।
चिकित्सकहरूले पनि छिटो तौल घटाउने नाममा लामो समय खाना नखानु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्ने बताउँदै आएका छन्। शरीरलाई आवश्यक पोषक तत्व नपुग्दा मस्तिष्कसहित विभिन्न अंगमा गम्भीर असर पर्न सक्छ।
प्रकाशित: ९ भाद्र २०८३ १४:२७ मंगलबार


-600x400.jpg)


