रुसले युक्रेनमा उत्तर कोरियाको आक्रमणलाई सघाउने एसियाली सहयोगीसँगको घनिष्ठ सम्बन्धको थप सङ्केत स्वरूप आइतबारदेखि उत्तर कोरियाका लागि सिधा व्यापारिक उडान सुरु गरेको छ।
नर्डविन्ड एयरलाइन्सले सञ्चालन गरेको मस्को–प्योङयाङको पहिलो उडान स्थानीय समयअनुसार आइतबार १६:०० बजे उडेको थियो र करिब आठ घण्टापछि उत्तर कोरियाको राजधानीमा अवतरण गर्ने तालिका रहेको छ।
युरोपेली सङ्घले रुसी उडानमा प्रतिबन्ध लगाउनुअघि युरोपका पर्यटकीय गन्तव्यमा उडान भर्दै आएको नोर्डविन्ड एयरलाइन्सले मस्कोबाट प्योङयाङका लागि टिकटको मूल्य ४५ हजार रुबल (५७० अमेरिकी डलर) तोकेको छ।
रुसको सरकारी समाचार संस्था तासका अनुसार मङ्गलबार प्योङयाङबाट मस्कोका लागि उडान हुनेछ।
रुसको यातायात मन्त्रालयले यो रुट महिनामा एक पटक सञ्चालन गरिने जनाएको छ।
सन् २०२० मा कोभिड–१९ को महामारीका बेला रेल सेवा बन्द गरेका रुस र उत्तर कोरियाले गत जुन १७ मा यसलाई पुनः सञ्चालन गरेका थिए।
प्योङयाङले युक्रेनमा आफ्नो सैन्य कारबाहीमा रुसलाई प्रयोग गर्नका लागि सेना र हतियार उपलब्ध गराएसँगै हालैका वर्षहरूमा दुई देशबिच घनिष्ठ सैन्य सम्बन्ध गाँसिएको छ।
गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्दा उनीहरूले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए।
उत्तर कोरियाले गत अप्रिलमा पहिलो पटक युक्रेनको सीमा क्षेत्रमा युक्रेनसँगको लडाइँका लागि रुसी सेनासँगै आफ्ना सैनिकको एक टुकडी तैनाथ गरेको पुष्टि गरेको थियो। एएफपी
प्रकाशित: ११ श्रावण २०८२ १७:०८ आइतबार

