अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका भेनेजुएलासँग युद्धमा नरहेको स्पष्ट पारेका छन्। एनबीसी न्युजसँगको कुराकानीमा अमेरिका भेनेजुएलासँग युद्धमा छ कि छैन भनेर सोधिएको थियो।
जवाफमा उनले भने, ‘मेरो मतलब हामी लागूपदार्थ तस्करी संगठनहरू विरुद्ध युद्धमा छौं। यो भेनेजुएलासँगको युद्ध होइन।’ उनले थप भने, ‘अमेरिकातर्फ लागूऔषध ल्याउने डुंगाहरू कब्जा गर्ने काम जारी रहनेछ।’
रुबियोले अमेरिका भेनेजुएलामा परिवर्तन देख्ने आशा गरेको बताउँदै सबैभन्दा महत्वपूर्ण परिवर्तनहरू अमेरिकी राष्ट्रिय हितमा हुनुपर्ने उल्लेख गरेका छन्।
ट्रम्प प्रशासनले अमेरिकामाथिको खतरालाई सम्बोधन गर्न दबाबका सबै माध्यम प्रयोग गर्ने उनको भनाइ छ।
उनका अनुसार अमेरिका भेनेजुएलालाई प्रत्यक्ष शासन गर्दैन। तर तेल निर्यातमा लगाइएको क्वारेन्टाइन कायम राखेर नीति परिवर्तनका लागि दबाब दिनेछ। यसले भेनेजुएलाका जनता र अमेरिकी हित दुवैलाई फाइदा पुग्ने दिशा निर्धारण गर्ने उनको ठहर छ।
सोही अन्तर्वार्तामा रुबियोलाई भेनेजुएलामा अमेरिकी कारबाही अघि किन कांग्रेस (संसद) को स्वीकृति लिइएन भनेर सोधिएको थियो। त्यसको जवाफमा रुबियोले भने, ‘त्यो आवश्यक थिएन किनभने यो आक्रमण थिएन।’
रुबियोले अमेरिकी कारबाहीलाई कानून प्रवर्तन अपरेशनको रूपमा वर्णन गर्दै निकोलस मादुरोलाई अमेरिकी एजेन्टहरूले पक्राउ गरेको बताए। उनले कांग्रेसलाई यस्ता अपरेशनबारे अग्रिम जानकारी गराउँदा सूचना चुहावट हुने जोखिम भएकाले नगरेको उल्लेख गरेका छन्।
शनिबार काराकासबाट पक्राउ परेका निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस न्यूयोर्कको संघीय जेलमा छन्। मादुरोमाथि लागूऔषध तस्करी र आतंकवादका आरोपमा आज न्यूयोर्कको संघीय अदालतमा सुनुवाइ हुने अपेक्षा गरिएको छ। एजेन्सीको सहयोगमा
प्रकाशित: २१ पुस २०८२ ०७:३३ सोमबार





