२३ श्रावण २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘३७० रुपैयाँको बिरयानी’ विवाद : तीन जनाविरुद्ध एफआईआर दर्ता, मुख्यमन्त्रीले के भने?

एउटा कमेडी शोमा महिला र शवका बारेमा गरिएको आपत्तिजनक टिप्पणीका कारण भारतीय हास्य कलाकार प्रणीत मोरे, दर्शक हिमांशु जांग्रा र मेडिकल विद्यार्थी सेजल पवार विवादित भएका छन्।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सुरु भएको विवादका कारण महाराष्ट्र साइबर प्रहरीले उनीहरू विरुद्ध एफआईआर दर्ता गरेको छ।

यो विवाद गुरुग्राममा आयोजित हास्य कलाकार प्रणीत मोरेको एउटा लाइभ शोबाट सुरु भएको हो। कार्यक्रमका क्रममा दर्शक दीर्घामा बसेका २२ वर्षीय हिमांशु जांग्राले आफ्नो डेटिङ अनुभव सुनाएका थिए। उनले एक महिलालाई करिब ३७० भारतीय रुपैयाँको कुखुराको बिरयानी खुवाएको र ती महिलाले घर छोड्न भन्दा आफूले खर्चको क्षतिपूर्तिको रूपमा ‘शारीरिक घनिष्ठता’ को अपेक्षा गरेको कुरा हाँस्दै बताएका थिए।

यो भिडियो भाइरल भएपछि महिलाको अस्मिताको खिल्ली उडाएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भयो। विवाद बढेपछि गुरुग्रामस्थित ‘स्टारविक डिजाइन’ कम्पनीले वेब डेभलपरको रूपमा कार्यरत हिमांशुलाई जागिरबाट बर्खास्त गरेको छ। कम्पनीका संस्थापक विवेक विश्वकर्माले भिडियोमा व्यक्त विचार आपत्तिजनक र असहज भएको भन्दै हिमांशुलाई हटाएको स्पष्ट पारेका छन्।

हिमांशुले शनिबार एउटा भिडियो सन्देश जारी गर्दै मनोरञ्जनका लागि कथालाई अलि बढाइचढाइ गरेको स्वीकार गर्दै माफी मागेका छन्। विवाद बढेपछि हास्य कलाकार प्रणीत मोरेले आफ्नो इन्स्टाग्राम खाता बन्द गरेका छन्। उनले शनिबार भिडियो सन्देश जारी गर्दै घटनाप्रति माफी मागे। 

उनले भनेका छन्, ‘३७० को बिरयानी भिडियोपछि मानिसहरू मलाई धेरै घृणा गरिरहेका छन्। म यसको हकदार छु। कार्यक्रमको क्रममा एक व्यक्तिले धेरै आपत्तिजनक कुराहरू भने। मानिसहरू हाँसिरहेका थिए, त्यसैले म परिस्थितिबाट प्रभावित भएँ र सही निर्णय लिन सकिनँ। मैले त्यतिबेलै त्यो मान्छेलाई रोक्न वा विरोध गर्न सक्थेँ। त्यसो गर्न नसकेर मैले उसलाई एउटा प्लेटफर्म दिएँ, जसले परिस्थितिलाई अझ बिगार्‍यो।’

मोरेले कानुनी कारबाहीका लागि अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेको र भविष्यमा आफ्नो सामग्रीमा संवेदनशीलता अपनाउने प्रतिबद्धता जनाएका छन्। 

यही विवादका बिच प्रणीत मोरेकै शोको अर्को एउटा पुरानो भिडियो पनि बाहिरिएको छ। मुम्बईको केईएम मेडिकल कलेजकी एमबीबीएस विद्यार्थी सेजल पवारले उक्त शोमा आफू र आफ्ना साथीहरूले मेडिकल कलेजमा अध्ययनका लागि दिइने पुरुषको शवको गुप्तांग हेरेर खिल्ली उडाउने गरेको बताएकी थिइन्।

यो भिडियो बाहिरिएपछि अखिल भारतीय मेडिकल स्टुडेन्ट्स एसोसिएसन (एआईएमएसए) ले यसको निन्दा गरेको छ। संस्थाले शरीर दाताहरूको अपमान गर्नु असंवेदनशील र चिकित्सा शिक्षाको गरिमा विपरीत भएको बताएको छ। विवादका कारण सेजललाई कलेज र होस्टेल क्याम्पस प्रवेशमा रोक लगाउँदै १५ दिनको अनिवार्य बिदामा राखिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यस विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ, जसले ७ दिनभित्र प्रतिवेदन बुझाउनेछ। सेजलले पनि आफ्नो गल्तीका लागि माफी मागिसकेकी छन्।

यो घटनालाई लिएर महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले गम्भीर आपत्ति जनाएका छन्। उनले संविधानले अभिव्यक्ति स्वतन्त्रता दिए पनि मनोरञ्जनको नाममा सामाजिक र नैतिक मर्यादा उल्लंघन गर्न नपाइने स्पष्ट पारे। उनले भने, ‘म आफैँलाई स्ट्यान्ड–अप कमेडी हेर्न मन पर्छ। तर कमेडी प्रस्तुत गर्दा शालीनताको न्यूनतम मापदण्ड पालना गर्नुपर्छ। जब अभिव्यक्ति अनियन्त्रित हुन्छ, यसले समाजमा सम्मानका साथ बाँच्ने मानिसहरूको अधिकारलाई असर गर्छ।’

यता भारतको राष्ट्रिय महिला आयोगले पनि यस मामिलामा स्वतः संज्ञान लिएको छ। आयोगका अध्यक्ष विजया रहाटकरले हरियाणाका प्रहरी महानिर्देशकलाई पत्र लेख्दै छिटो र कडा कारबाही गर्न र ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको जानकारी दिएका छन्। आयोगले यस प्रकरणमा जुन २२ मा सुनुवाइ तय गर्दै कलाकार प्रणीत मोरे र हिमांशु जांग्राका नाममा सूचना जारी गरेको छ। भारतीय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: ३१ जेष्ठ २०८३ ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App