साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले राजधानी रियादतर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र रोकेर हावामै नष्ट गरेको जनाएको छ।
गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मलिकीले क्षेप्यास्त्रलाई युद्धका नियमअनुसार रोकिएको र हावामै नष्ट गरिएको बताएका हुन्।
उनका अनुसार घटनाबाट कुनै क्षति भएको छैन। उनले गठबन्धन सेनाले घटनाक्रमको निगरानी गरिरहेको र नागरिक तथा महत्त्वपूर्ण संरचनाको सुरक्षाका लागि आवश्यक कदम चालिरहेको बताए।
अल-मलिकीका अनुसार बायश, तैफ, फरासन र यान्बुमा नागरिक तथा नागरिक पूर्वाधारलाई लक्षित गर्ने हुथीका प्रयास पनि हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको छ।
उनले हुथीका थप आक्रमण रोक्न अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार आवश्यक कदम चाल्ने अधिकार गठबन्धनसँग रहेको बताए।
रियादलाई लक्षित गरी भएको घटनापछि कुवेत, इजिप्ट, बहराइन, जोर्डनलगायत देशले हुथीको कारबाहीको निन्दा गरेका छन्।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस र खाडी सहयोग परिषद्का महासचिव जसेम मोहम्मद अल्बुदैवीले पनि साउदी अरेबियामाथि भएका आक्रमण र त्यसले क्षेत्रीय सुरक्षा तथा स्थिरतामा पार्न सक्ने असरप्रति चिन्ता व्यक्त गरेका छन्।
शनिबार रियाद र नजिकैको अल-खर्जमा सम्भावित खतराबारे चेतावनी जारी गरिएको थियो। रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल आसपासको घटनाले उडान सेवामा समेत असर परेको थियो।
विमानस्थलमा लामो ढिलाइ र केही उडान रद्द भएका थिए। यसबिच अमेरिकाले मध्यपूर्वका नौ देशहरूमा रहेका आफ्ना नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।
साउदी अरेबिया र हुथीबिच पछिल्लो समय तनाव बढ्दै गएको छ। सन् २०२२ मा संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्धविरामपछि ठुलो स्तरको संघर्ष रोकिएको थियो।
तर पछिल्ला हप्तामा साउदी अरेबियातर्फ हुथीका क्षेप्यास्त्र र ड्रोन गतिविधि बढेपछि तनाव फेरि चर्किएको बताइएको छ।
प्रकाशित: ४ आश्विन २०८३ १३:०६ आइतबार




-600x400.jpg)
