१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मालीका रक्षामन्त्री मारिएपछि रुसलाई विद्रोहीले पठाएको ‘स्पष्ट’ सन्देश

मालीका रक्षामन्त्री जनरल सादियो कामारा विद्रोही र जिहादी समूहको आक्रमणमा परी मारिएका छन्।

मालीका अधिकारीहरूले आइतबार उनको मृत्युको औपचारिक घोषणा गरेका हुन्। शनिबार जिहादी र विद्रोहीहरूले देशका विभिन्न स्थानमा गरेको समन्वित आक्रमणका क्रममा उनी मारिएका हुन्।

रक्षा मन्त्रालयको फेसबुक पेज र राज्य सञ्चालित टेलिभिजनमार्फत प्रवक्ता जनरल इस्सा ओस्माने कुलिबालीले कामाराको मृत्युको पुष्टि गरे। यो घटनालाई सैन्य जुन्टाद्वारा सञ्चालित मालीमा भएको पछिल्लो ठूलो हिंसात्मक घटनाका रूपमा लिइएको छ।

सरकारी विज्ञप्ति अनुसार शनिबार एक आत्मघाती कार बम र अन्य आक्रमणकारीहरूले रक्षामन्त्री कामाराको निवासलाई निशाना बनाएका थिए। उक्त समयमा कामारा आफैँ पनि प्रतिकारमा उत्रिएका थिए। 

विज्ञप्तिमा भनिएको छ, ‘उनी आक्रमणकारीहरूसँग गोली हानाहानमा संलग्न भए, जसमध्ये केहीलाई उनले निष्क्रिय पार्न सफल भए। तीव्र झडपको क्रममा, उनी घाइते भए र त्यसपछि अस्पताल लगियो, जहाँ दुर्भाग्यवश उनको चोटका कारण मृत्यु भयो।’

राजधानी बामाको र अन्य सहरहरूमा भएको यो आक्रमणले मालीको सुरक्षा साझेदार रुसलाई समेत कडा चुनौती दिएको छ। सरकारी प्रवक्ता कुलिबालीले नागरिक र सैन्य कर्मचारी गरी १६ जना घाइते भएको र धेरै लडाकूहरू मारिएको जानकारी दिए। घटनापछि बामाकोमा तीन दिनका लागि रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ।

यसैबिच, पृथकतावादी तुआरेग नेतृत्वको अजावद लिबरेशन फ्रन्ट (एफएलए) ले उत्तरी मालीको रणनीतिक सहर किडाल आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। एफएलएका प्रवक्ता मोहम्मद एल मौलौद रमजानले भने, ‘किडाललाई मुक्त घोषित गरिएको छ।’

मालीका सशस्त्र बलका प्रमुख जनरल ओमार डियाराले पनि सेनाले किडाल छोडेको र करिब १०० किलोमिटर दक्षिणमा रहेको एनेफिसमा पुनः संगठित भइरहेको पुष्टि गरे। किडाललाई विद्रोहीको गढ मानिन्थ्यो, जसलाई सन् २०२३ मा सरकारी सेना र रुसी भाडाका सैनिकहरूले कब्जा गरेका थिए।

यो आक्रमणमा पहिलो पटक पृथकतावादीहरू र अल-कायदासँग सम्बन्धित समूह जेएनआईएमले मिलेर काम गरेका छन्। एफएलए प्रवक्ता रमजानले यो अपरेशन जेएनआईएमसँगको साझेदारीमा सञ्चालन भएको स्वीकार गर्दै भने, ‘यो साझेदारी बामाकोमा सैन्य शासन विरुद्ध जनताको रक्षा गर्न पनि प्रतिबद्ध छ।’

विद्रोहीहरूले रुसलाई मालीको सैन्य जुन्टालाई दिँदै आएको समर्थन पुनर्विचार गर्न समेत आग्रह गरेका छन्।

मालीसहित नाइजर र बुर्किना फासो सैन्य विद्रोहपछि रुसतर्फ झुकाव बढेको छ। तर अहिले ती क्षेत्रमा सुरक्षा अवस्था झन् बिग्रिएर आतंककारी आक्रमणमा वृद्धि भएको पाइएको छ। एजेन्सी

प्रकाशित: १४ वैशाख २०८३ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App