१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमा बालिका बलात्कारका दोषीलाई सार्वजनिक मृत्युदण्ड

इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहरिएको एक पुरुषलाई ‘सार्वजनिक’ रूपमा मृत्युदण्ड दिएको छ। पीडित परिवारको आग्रह र घटनाले समाजमा पारेको गहिरो भावनात्मक असरका कारण मृत्युदण्ड खुला स्थानमा कार्यान्वयन गरिएको न्यायपालिकाले जनाएको छ।

दोषी पुरुषले उत्तर-पश्चिमी इरानको बुकान शहरकी एक बालिकालाई बलात्कार गरी हत्या गरेका थिए। पीडित परिवार न्यायिक प्रक्रिया भरि संलग्न रहेको र अन्ततः सार्वजनिक रूपमा सजाय कार्यान्वयन गरियोस् भन्ने माग गरेका थिए।

प्रान्तीय न्यायाधीश नासेर अताबातीले भने, ‘घटनाले जनतामा गहिरो आक्रोश र भावनात्मक प्रतिक्रिया उत्पन्न गरेकोले मृत्युदण्डलाई सार्वजनिक रूपमा कार्यान्वयन गर्नुपर्ने अवस्था आएको हो।’

यो घटनामा दोषीलाई मार्च महिनामा मृत्युदण्ड सुनाइएको थियो र पछि इस्लामी गणतन्त्र इरानको सर्वोच्च अदालतले पनि सो फैसला सदर गरेको थियो।

इरानमा हत्या र बलात्कार जस्ता गम्भीर अपराधका लागि मृत्युदण्डको प्रावधान रहेको छ। यस्ता सार्वजनिक मृत्युदण्ड झुण्ड्याएर दिइने गर्छन्, जुन विशेष संवेदनशील र गम्भीर घटनामा मात्र गरिन्छ।

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार, इरान चीनपछि सबैभन्दा धेरै मृत्युदण्ड दिने राष्ट्र हो। एएफपी

प्रकाशित: २९ असार २०८२ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App