९ कार्तिक २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विवाहको वाचा, महँगा कारको रवाफ : २० महिला प्रहरीसँग २४ लाख ठगी, २३ वर्षीय युवक पक्राउ

तस्बिर : भारतीय सञ्चारमाध्यम

भारतको दिल्लीमा विवाह गर्ने आश्वासन र विलासी जीवनशैलीको रवाफ देखाएर करिब २० जना महिला प्रहरीसँग २४ लाख भारतीय रुपैयाँ ठगी गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन्। 

दिल्ली प्रहरीले विक्रान्त तोमरलाई बुरारी क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार तोमरले इन्स्टाग्राममा आफूलाई धनी व्यवसायीका रूपमा प्रस्तुत गर्दै महिला प्रहरीसँग सम्बन्ध बनाउने र विभिन्न बहानामा पैसा माग्ने गरेका थिए। उनले विवाह गर्ने आश्वासन दिनुका साथै उच्च प्रतिफल दिने लगानीको प्रलोभन देखाएर रकम लिने गरेको आरोप छ।

यो प्रकरण करोल बाग प्रहरी चौकीमा कार्यरत एक महिला प्रहरीले दिएको उजुरीपछि बाहिर आएको हो। ती महिलाले तोमरले विवाहको वाचा गरेर आफूबाट रकम लिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि अनुसन्धान अघि बढाउँदा एउटै ब्याचका अन्य महिला प्रहरी पनि ठगीमा परेको हुन सक्ने खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा तोमरले इन्स्टाग्राममा महँगा कार, विलासी रेस्टुरेन्ट र कफी पसलमा खिचिएका तस्बिर तथा भिडियो पोस्ट गरेर आफूलाई आर्थिक रूपमा सम्पन्न देखाउने गरेको खुलेको छ। प्रहरीका अनुसार उनले महँगा कार एकपटकमा आठ घण्टाका लागि भाडामा लिने र ती कारमा महिला प्रहरीलाई घुमाउन लैजाने गरेका थिए। यसरी आफ्नो आर्थिक हैसियत देखाएर उनीहरूको विश्वास जित्ने गरेको आरोप छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार यस प्रकरणमा करिब २० जना महिला प्रहरी प्रभावित भएका हुन सक्छन्। उनीहरू एउटै ब्याचका रहेको बताइएको छ।

अधिकारीहरूले तोमरकी लिभ-इन पार्टनर पनि दिल्ली प्रहरीमा कार्यरत महिला प्रहरी रहेको विषयमा अनुसन्धान गरिरहेका छन्। उनले आफ्नी पार्टनरका ब्याचमेटमार्फत अन्य महिला प्रहरीबारे जानकारी जुटाएर उनीहरूलाई लक्षित गरेको हुन सक्ने प्रहरीको आशंका छ। 

प्रहरीले ठगीबाट प्राप्त रकमको कारोबारमा ‘वनएक्स’ बेटिंग एपसँग सम्बन्धित खाताहरू प्रयोग भएको हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेको छ। रकम कहाँबाट आयो र कसरी स्थानान्तरण भयो भन्नेबारे पनि वित्तीय विवरण जाँच भइरहेको छ।

दिल्ली प्रहरीका अनुसार तोमरविरुद्ध यसअघि पनि ठगीसम्बन्धी पाँचवटा एफआईआर दर्ता भएका थिए। उनी यसै वर्ष जुनमा जमानतमा रिहा भएको पाइएको छ। हाल मध्य जिल्ला साइबर प्रहरी एकाइले उनीसँग सोधपुछ गर्दै घटनामा थप पीडित छन् कि छैनन् भन्नेबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App