१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हारपछि ट्रम्पलाई कार्यशैली सुधार्न दबाब

मध्यावधि चुनावमा पराजय भोग्दै डेमोक्र्याटहरूले कंग्रेसको नियन्त्रण आफ्नो हातमा लिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नै पार्टीभित्रबाट नीति परिवर्तन गर्न दबाब बढेको छ।

प्रमुख चुनावी प्रतिस्पर्धामा रिपब्लिकन उम्मेदवारहरू पराजित भएपछि पार्टीका नेता, सहयोगी र रणनीतिकारहरूले ट्रम्पलाई आफ्नो कार्यशैली सुधार्न र विवादास्पद नीतिहरू पुनर्विचार गर्न आग्रह गरेका छन्।

रिपब्लिकन रणनीतिकारहरूले ट्रम्पलाई ह्वाइट हाउसको नेतृत्वमा परिवर्तन ल्याउन, प्रशासनभित्र अनुशासन कायम गर्न र इरान युद्ध तथा करसम्बन्धी नीतिहरूको समीक्षा गर्न सुझाव दिएका छन्। उनीहरूका अनुसार यी नीतिहरूले पार्टीलाई चुनावी रूपमा ठूलो क्षति पुर्‍याएका छन्।

अनुभवी रिपब्लिकन रणनीतिकार जोन फीहेरीले चुनावी परिणामलाई ट्रम्पका लागि ठूलो राजनीतिक धक्का भएको टिप्पणी गरे।

‘उनले ह्वाइट हाउसमा व्यापक सुधार गर्नुपर्छ,’ फीहेरीले भने, ‘अब प्रत्येक दिन बित्दै जाँदा उनको राजनीतिक प्रभाव झन् कमजोर हुँदै जानेछ।’

तर ट्रम्पले भने चुनावी परिणामलाई आफ्नो नेतृत्वमाथिको असफलताका रूपमा स्वीकार गर्न खासै रुचि देखाएका छैनन्।  

उनले चुनावी हारलाई व्यक्तिगत धक्काका रूपमा नलिएको बताएका थिए।

डेमोक्र्याटहरूले अब ट्रम्पका विधेयकहरू रोक्ने, उनको प्रशासनमाथि अनुसन्धान गर्ने र नियुक्तिका लागि प्रस्ताव गरिएका व्यक्तिहरूलाई चुनौती दिने पर्याप्त शक्ति पाउनेछन्।

यसले कार्यकारी अधिकारको आक्रामक प्रयोग गर्दै आएका ट्रम्पलाई आगामी दिनमा एकपक्षीय निर्णयमा थप निर्भर हुन बाध्य बनाउन सक्ने विश्लेषकहरूको भनाइ छ।

भान्सले इरान युद्धमाथि उठाए प्रश्न

चुनावी पराजयपछि ट्रम्पका सम्भावित राजनीतिक उत्तराधिकारीका रूपमा हेरिएका उपराष्ट्रपति जेडी भान्सले पनि राष्ट्रपतिसँग केही दूरी कायम गरेको संकेत दिएका छन्।

बुधबार उनले मध्यावधि चुनावमा रिपब्लिकनहरूको हारका लागि इरान युद्धलाई जिम्मेवार ठहर गरेका थिए।

यदि पार्टीभित्र ट्रम्पको प्रभाव कमजोर हुँदै गएको निष्कर्ष निकालियो भने आगामी दिनमा अन्य रिपब्लिकन नेताहरूले पनि उनीबाट दूरी कायम गर्न सक्ने रणनीतिकार तथा पार्टी अधिकारीहरूको अनुमान छ।

ह्वाइट हाउसमा कर्मचारी परिवर्तनको तयारी

ह्वाइट हाउसभित्र पनि चुनावी परिणामपछि कर्मचारी परिवर्तन, सम्भावित मन्त्रिपरिषद् पुनर्गठन र डेमोक्र्याटहरूले गर्न सक्ने अनुसन्धानको तयारी भइरहेको एक वरिष्ठ अधिकारीले बताएका छन्।

नाम सार्वजनिक नगर्ने सर्तमा ती अधिकारीले ह्वाइट हाउसको वातावरण निराशाजनक रहेको बताए।

‘अहिले यहाँ काम गर्नु निकै कठिन छ। कर्मचारीहरूको मनोबल अत्यन्तै कमजोर छ,’उनले भने।

उनका अनुसार चुनाव हुनुभन्दा करिब छ हप्ता अगाडि नै आन्तरिक सर्वेक्षणहरूले रिपब्लिकनहरू दुवै सदनमा पराजित हुन सक्ने संकेत गरेका थिए।

तर राजनीतिक जोखिमबारे चेतावनी दिइए पनि ट्रम्पले इरानसम्बन्धी आफ्नो नीति परिवर्तन गर्न अस्वीकार गरेका थिए।

‘अन्ततः उनलाई त्यसको कुनै वास्ता थिएन। उनले कसैको कुरा सुन्न चाहेनन्,’ ती अधिकारीले भने।

मंगलबार ट्रम्पले आठ महिनादेखि जारी इरान युद्धले रिपब्लिकन उम्मेदवारहरूलाई चुनावमा असर पुर्‍याएको स्वीकार गरे पनि युद्ध सुरु गर्ने आफ्नो निर्णयको बचाउ गरेका थिए।

बलरूम निर्माणमा ट्रम्पको ध्यानप्रति असन्तुष्टि

रिपब्लिकनहरूको असन्तुष्टि इरान युद्धमा मात्र सीमित छैन। मिशिगन र आयोवाजस्ता राज्यहरूमा प्रतिस्पर्धात्मक सिनेट चुनावका लागि गरिएको फोकस समूहमा रिपब्लिकन तथा स्वतन्त्र मतदाताहरूले ह्वाइट हाउसको बलरूम निर्माण र वासिङ्टनका भवनहरूको मर्मतसम्भारमा ट्रम्पले दिएको प्राथमिकताप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

एक रिपब्लिकन राजनीतिक सल्लाहकारका अनुसार यसले पार्टीभित्र गम्भीर चिन्ता पैदा गरेको थियो।

‘यदि ट्रम्पले आगामी दुई वर्ष पनि यस्तै विषयमा कुरा गर्दै बिताए भने अर्को चुनावमा हामी फेरि नराम्रोसँग पराजित हुनेछौँ,’ ती सल्लाहकारले भने।

तर बुधबार पनि ट्रम्पले पत्रकारहरूलाई बलरूम निर्माणस्थलको भ्रमण गराउँदै परियोजनामा आफूले दिएको समयको बचाउ गरे।

‘यो कामले मलाई आराम महसुस गराउँछ,’ उनले भने।

ह्वाइट हाउसले पनि सामाजिक सञ्जालमा ट्रम्पको तस्बिर पोस्ट गर्दै उनको राजनीतिक शक्ति अझै कायम रहेको सन्देश दिएको थियो। पोस्टमा लेखिएको थियो, ‘एक्ज ट्रम्प अझै पनि तपाईंका राष्ट्रपति हुन्।’

कार्यकारी अधिकारले मात्रै सबै चुनौती टार्न सक्ने छैन

चुनावी पराजयपछि पनि ट्रम्पसँग आफ्नो एजेन्डा अघि बढाउने पर्याप्त कार्यकारी शक्ति रहेको छ।

रोयटर्सका अनुसार ह्वाइट हाउसले आप्रवासन, कर, आवास र संघीय खर्चसम्बन्धी कार्यकारी निर्णयहरू तयार पार्न महिनौँदेखि काम गरिरहेको छ।

यी निर्णयहरूले डेमोक्र्याटहरूको विरोधका बाबजुद ट्रम्पलाई आफ्नो नीतिका केही हिस्सा कार्यान्वयन गर्न मद्दत गर्न सक्छन्।

तर कार्यकारी अधिकारको प्रयोगले कंग्रेसबाट हुने अनुसन्धान रोक्न सक्ने छैन। ‘कसैले पनि अनुसन्धानको सामना गर्न चाहँदैन,’ ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले भने।

डेमोक्र्याटहरूले कंग्रेसको नियन्त्रण सम्हालेसँगै ट्रम्प प्रशासनका लागि आगामी दुई वर्ष राजनीतिक रूपमा चुनौतीपूर्ण हुने संकेत देखिएको छ।

पार्टीभित्रै बढ्दो असन्तुष्टि र चुनावी परिणामले ट्रम्पलाई आफ्नो बाँकी कार्यकालमा नेतृत्वशैली र नीतिगत प्राथमिकताबारे पुनर्विचार गर्न बाध्य पार्ने सम्भावना छ।रोयटर्स

प्रकाशित: १९ कार्तिक २०८३ १६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App