२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी नेतृत्वको सुरक्षा गठबन्धनमा पेरु पनि सामेल, ‘पेरु कसैको उपनिवेश होइन’ भन्दै विरोध

दक्षिण अमेरिकी देश पेरु अमेरिकाको नेतृत्वमा रहेको क्षेत्रीय सुरक्षा गठबन्धन ‘शिल्ड अफ द अमेरिकाज’मा सामेल भएको छ।

यो गठबन्धनले गुप्तचर जानकारी आदानप्रदान गर्नुका साथै लागूपदार्थ तस्करविरुद्ध सैन्य कारबाहीमा सहकार्य गर्छ। पेरुकी नवनिर्वाचित दक्षिणपन्थी राष्ट्रपति केइको फुजिमोरीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि बिहीबार गठबन्धनमा सामेल हुने घोषणा गरेकी हुन्।

उनले भनिन्, ‘पहिले आतंकवादविरुद्ध लड्नुपरेका कारण अहिले अपराधसँग जुध्न कति कठिन छ भन्ने हामीलाई थाहा छ।’ फुजिमोरीको सरकारले रुबियोलाई पेरुको सर्वोच्च नागरिक सम्मानमध्ये एक ‘अर्डर अफ द सन’ पनि प्रदान गरेको छ।

रुबियोले पेरुको गठबन्धनमा सहभागिताको स्वागत गर्दै यसलाई अन्तर्राष्ट्रिय आपराधिक समूहबाट राष्ट्रको सार्वभौमसत्ता जोगाउने सुरक्षा कवचका रूपमा व्याख्या गरेका छन्।

कोलम्बियापछि पेरु विश्वको दोस्रो ठुलो कोकिन उत्पादक देश हो। पछिल्ला वर्षमा पेरुमा जबरजस्ती चन्दा असुलीजस्ता अपराधका घटना पनि बढेका छन्। फुजिमोरीले सुरक्षा मुद्दालाई प्राथमिकता दिँदै सरकार अघि बढाउने बताएकी छन्।

तर अमेरिकाको बढ्दो सैन्य संलग्नताले ल्याटिन अमेरिकी देशको सार्वभौमसत्तामा असर पार्न सक्ने भन्दै केही समूहले चिन्ता व्यक्त गरेका छन्। रुबियोका अनुसार अमेरिकाले स्थानीय अधिकारीको अनुमति लिएर मात्र हस्तक्षेप गर्नेछ। उनले भने, ‘हाम्रा साझेदारहरूले हामीलाई गर्न नभनेको कुनै पनि काम हामी गर्ने छैनौँ।’

लिमामा फुजिमोरी र रुबियोको भेट भइरहेका बेला प्रदर्शनकारीले विरोध पनि गरेका थिए। उनीहरूले ‘पेरु कसैको उपनिवेश होइन’ भन्दै अमेरिकी सुरक्षा प्रभावविरुद्ध नाराबाजी गरेका हुन्।

यसैबिच, अमेरिकाले पेरुलाई चीनसँगको आर्थिक निर्भरता घटाउन पनि दबाब दिँदै आएको छ। चीन अहिले पेरुको प्रमुख व्यापारिक साझेदार हो। पेरु विश्वको तेस्रो ठुलो तामा उत्पादकसमेत भएकाले अमेरिकी सुरक्षा रणनीतिसँगै आर्थिक दृष्टिले पनि महत्त्वपूर्ण देश मानिन्छ। एजेन्सी

प्रकाशित: २६ भाद्र २०८३ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App