२७ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीमतीलाई एक्लै छोड्न नसकेपछि विमानको शौचालयभित्र यस्तो ‘हर्कत’ गर्ने यात्रु धरौटीमा छुटे

एआई तस्बिर

श्रीमती क्यान्सरबाट पीडित भएपछि उनलाई एक्लै छोडेर विदेश जान नसक्ने निष्कर्षमा पुगेका एक व्यक्तिले उडान रोक्न विमानमै अपहरणको झूटो धम्की दिएको खुलेको छ। 

उनले विमानको शौचालयमा हस्तलिखित धम्कीपूर्ण नोट छोडेको आरोपमा पक्राउ परेका थिए। तर, अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गरेको हो। भारतको ब्यारेकपुर अदालतले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर धरौटीमा छाड्ने आदेश दिएको हो। प्रहरीले उनलाई न्यायिक हिरासतमा पठाउन माग गरेको भए पनि अदालतले धरौटी दियो।

प्रहरीका अनुसार नन्दीले आफू शारीरिक र मानसिक रूपमा थकित, निराश तथा आक्रोशित रहेको बताएका थिए। श्रीमतीको स्वास्थ्य अवस्था र आफ्नै क्यान्सरको इतिहासका कारण लामो समय घरबाहिर बस्न कठिन भएको उनको भनाइ थियो। धरौटीमा रिहा भए पनि उनीमाथिको अनुसन्धान जारी छ।

भारतको कोलकातास्थित विमानस्थलमा भएको घटनामा पक्राउ परेका व्यक्ति पार्थ प्रतिमा नन्दी हुन्। उनी आफैं पनि कोलोन क्यान्सरबाट निको भएका व्यक्ति रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीका अनुसार नन्दी रोजगारीका लागि मुम्बई हुँदै अफ्रिकी मुलुक मोजाम्बिक जाने तयारीमा थिए। उनी तेल पाइपलाइन परियोजनामा परामर्शदाताका रूपमा काम गर्दै आएका थिए। नयाँ जागिरका लागि उनले अमेरिकी कम्पनीबाट एक लाख भारतीय रुपैयाँ अग्रिम रकमसमेत लिएका थिए।

तर, क्यान्सरबाट पीडित श्रीमतीलाई एक्लै छोडेर विदेश जान उनी चाहँदैनथे। उनले यात्राअघि नै जागिरमा जान नसक्ने भन्दै कम्पनीलाई जानकारी गराउने प्रयास गरेका थिए। विमानस्थल जाने क्रममा भएको सामान्य सडक दुर्घटनालाई पनि यात्रा रद्द गर्ने बहाना बनाउन खोजेको बताइएको छ। तर, कम्पनीले काममा नआए कानुनी कारबाही गर्ने चेतावनी दिएपछि उनी थप तनावमा परेको पाइएको छ।

त्यसपछि उनले उडान रोक्ने उपाय अपनाएको अनुसन्धानबाट खुलेको छ। कोलकाताबाट मुम्बई जाने एयर इन्डियाको एआई २७७२ उडानको शौचालयमा उनले ‘विमान अपहरण हुनेछ’ भन्दै एउटा सेतो कार्डमा नोट लेखेर छोडेका थिए। स्थानीय समय अनुसार बुधबार बिहान करिब १०:३७ बजे चालक दलका सदस्यले उक्त नोट देखेपछि पाइलटले एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराएका थिए।

त्यसपछि विमानलाई आइसोलेसन क्षेत्रमा लगेर १०५ जना यात्रुलाई बाहिर निकालियो। सुरक्षा निकायले विमानको विस्तृत जाँच गर्नुका साथै यात्रु, चालक दलका सदस्य र विमानसँग सम्पर्कमा आएका कर्मचारीको हस्तलेखन नमुना संकलन गरेको थियो। अनुसन्धानका क्रममा नन्दीको हस्तलेखन नोटसँग मेल खाएपछि उनीमाथि शंका गरिएको थियो। पछि उनले नोट लेखेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

घटनाका कारण उडान सात घण्टाभन्दा बढी ढिलो भएको थियो। सुरक्षा जाँच पूरा भएपछि विमान बुधबार साँझ ५:३८ बजे मुम्बईका लागि उडेको थियो।

प्रकाशित: २७ कार्तिक २०८३ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App