गाजाको उत्तरी क्षेत्रमा रहेको कमाल अदवान अस्पतालका निर्देशक डा हुसम अबु सफियाको स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएको भन्दै उनका परिवार र मानवअधिकार संस्थाहरूले तत्काल रिहाइको माग गरेका छन्।
डा अबु सफियाका छोरा इलियास अबु सफियाले आइतबार एक भिडियो मार्फत आफ्ना बुबालाई पाँच सय ५५ दिनभन्दा बढी समयदेखि इजरायली हिरासतमा राखिएको कारण उनको स्वास्थ्य अत्यन्तै नाजुक बनेको बताएका छन्।
इलियासका अनुसार, परिवारका कानुनी प्रतिनिधि वकिल नासेर ओदेहले हालै डा अबु सफियासँग भेट गरेपछि उनको शारीरिक अवस्थाबारे जानकारी दिएका हुन्। उनका अनुसार डा अबु सफियालाई सास फेर्न कठिनाइ भइरहेको, बोल्नसमेत गाह्रो भएको तथा शरीरमा चोटपटकका चिन्ह देखिएको बताइएको छ।
मानवअधिकार संस्था फिजिसियन्स फर ह्युमन राइट्स–इजरायल ले पनि वकिल ओदेहले जुलाई २ मा गरेको भेटका आधारमा डा अबु सफियाको जीवन तत्काल जोखिममा रहेको जनाएको छ। संस्थाका अनुसार उनको टाउको, आँखा, कान र घाँटी वरिपरि ताजा चोटका चिन्ह देखिएका थिए। साथै, उनलाई हातखुट्टा बाँधिएको अवस्थामा भेटघाटमा ल्याइएको र सशस्त्र सुरक्षाकर्मीले घेरेको अवस्थाको विवरण वकिलले दिएका छन्।
संस्थाले प्राप्त विवरणलाई युद्ध सुरु भएयताकै सबैभन्दा गम्भीर गवाहीमध्ये एक भन्दै तत्काल चिकित्सकीय उपचार र रिहाइको माग गरेको छ।
डा अबु सफियालाई इजरायली सेनाले डिसेम्बर २७, २०२४ मा उत्तरी गाजास्थित कमाल अदवान अस्पतालबाट नियन्त्रणमा लिएको थियो। त्यसयता उनीमाथि कुनै औपचारिक अभियोग दर्ता गरिएको छैन। इजरायली अधिकारीहरूले उनलाई ‘गैरकानूनी लडाकु’को श्रेणीमा राखिएको बताएका छन् ।
प्रकाशित: २१ असार २०८३ १८:५२ आइतबार





