२ मंसिर २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानको इसारामा ट्रम्पविरुद्ध यस्तो योजना बनाउने पाकिस्तानीलाई २७ वर्ष जेल सजाय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य शीर्ष अमेरिकी नेताको हत्या गर्ने योजना बनाएको अभियोगमा पाकिस्तानी नागरिक आसिफ मर्चेन्टलाई २७ वर्ष ६ महिना जेल सजाय सुनाइएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को निर्देशनमा काम गरेको बताएका मर्चेन्टलाई अमेरिकी अदालतले मंगलबार सजाय सुनाएको हो।

४८ वर्षीय मर्चेन्टले ट्रम्प, पूर्वराष्ट्रपति जो बाइडेन र संयुक्त राष्ट्रसंघका लागि पूर्व अमेरिकी राजदूत निक्की हेलीलाई सम्भावित निशाना बनाउने योजना बनाएका थिए। उनले हत्याका लागि मानिस खोजेर पाँच हजार अमेरिकी डलरसमेत दिएका थिए। तर उनले भाडामा लिन खोजेका व्यक्ति वास्तवमा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का गोप्य एजेन्ट थिए।

मर्चेन्टले अदालतमा सन् २०२० मा अमेरिकाले इरानका सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेपछि त्यसको बदला लिन आफूलाई आईआरजीसीले परिचालन गरेको बताएका थिए। उनले इरानमा रहेका आफन्तको सुरक्षाका लागि आफूले उक्त योजना स्वीकार गरेको दाबीसमेत गरेका थिए।

‘मेरो परिवार खतरामा थियो र मैले यो गर्नुपरेको थियो,’ उनले मार्चमा अदालतमा बयान दिएका थिए। उनका अनुसार इरानी अधिकारीले बाइडेन, हेली र ट्रम्पलाई सम्भावित निशानाका रूपमा अघि सारेका थिए।

मर्चेन्टले ट्रम्पका राजनीतिक सभा स्थलको जानकारी संकलन गरेका थिए। उनले होटलको रुमालमा विभिन्न वस्तु राखेर एक परिचितलाई आफ्नो योजना बुझाएका थिए। ती परिचितले प्रहरीलाई जानकारी दिएपछि अमेरिकी अधिकारीले उनलाई निगरानीमा राखेका थिए।

सन् २०२४ जुलाई १२ मा पाकिस्तान फर्किने तयारी गरिरहेका बेला टेक्ससमा उनलाई पक्राउ गरिएको थियो। यो घटना पेन्सिलभेनियाको बटलरमा ट्रम्पमाथि भएको छुट्टै हत्या प्रयासको एक दिनअघि भएको थियो।

अभियोजन पक्षले मर्चेन्टले अमेरिकी अधिकारीको हत्या गर्ने गम्भीर योजना बनाएको भन्दै आजीवन कारावासको माग गरेको थियो। तर न्यायाधीश एरिक कमिटीले उनलाई २७ वर्षभन्दा बढी जेल सजाय सुनाए।

मर्चेन्टका वकिलले उनले दबाबमा काम गरेको र योजनामा उनको संलग्नता कमजोर रहेको दाबी गरेका थिए। वकिल क्रिस्टोफर नेफले भने, ‘यो योजना सुरुदेखि नै असफल हुने खालको थियो।’

मर्चेन्टले सजाय सुनाउने क्रममा कुनै प्रतिक्रिया जनाएनन्। उनका वकिल अब्राहम मोस्कोविट्जका अनुसार उनले फैसलाविरुद्ध पुनरावेदन गर्ने योजना बनाएका छन्।

न्यायाधीशले मर्चेन्टलाई आफ्नो परिवारको चिन्ता रहेको स्वीकार गरे पनि उनी अमेरिकालाई क्षति पुर्‍याउन अत्यधिक प्रेरित भएको टिप्पणी गरे। उता, इरान सरकारले अमेरिकी अधिकारीको हत्या गर्ने योजना बनाएको आरोप अस्वीकार गर्दै आएको छ। एजेन्सी

प्रकाशित: २ मंसिर २०८३ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App