पाकिस्तानी सेनाका फिल्ड मार्सल र प्रमुख असिम मुनीरले भारतलाई आकारका आधारमा सुरक्षित भन्ने भ्रममा नपर्न चेतावनी दिएका छन्। शनिबार उनले भारतविरुद्ध उत्तेजक बयान जारी गर्दै भने, ‘पाकिस्तानसँग जहाँ पनि प्रहार गर्न सक्ने हतियार छ।’
सैन्य एकेडेमीमा पासिङ आउट परेडलाई सम्बोधन गर्दै उनले भने, ‘आफ्नो आकारका कारण (यस क्षेत्रमा) सुरक्षित छ भन्ने भारतको गलत धारणा चाँडै नै हट्नेछ।’
मुनीरले आणविक हतियारयुक्त वातावरणमा युद्धको कुनै ठाउँ नभएको स्पष्ट पारे। यदि दुई देशबीच युद्ध भयो भने पाकिस्तानी सेनाको प्रतिक्रिया भारतले सोच्नेभन्दा बाहिर हुने धम्की उनले दिए।
मुनीरले भने, ‘अपरेशन बुनयान–उम–मर्सुज (भारतविरुद्धको द्वन्द्व) को समयमा पाकिस्तानी सेनाले आफ्नो क्षमता प्रदर्शन गर्यो र आफ्नो भन्दा धेरै गुणा ठूलो शत्रु सेनालाई पराजित गर्यो।’
उनले भने, ‘अल्लाहको सहयोग र जनताको समर्थनमा पाकिस्तानले आफ्नो सिमानाको रक्षामा ठूलो सफलता हासिल गरेको छ।’ मुनीरले पाकिस्तानको एक इन्च जमिन पनि शत्रुलाई नदिने वाचा गरे।
उनले अफगानिस्तान र इरानसँग सीमा जोडिएका राज्यमा भारतले आतंक फैलाइरहेको आरोप लगाए। उनले भने, ‘जसरी हामीले अघिल्लो पटक भारतलाई पराजित गरेका थियौं, त्यसरी नै भारतको सहयोगमा सञ्चालित आतंकवादी समूहहरूलाई पनि कुल्चनेछौं।’ सेना प्रमुख मुनीरले पाकिस्तानी वायुसेनाले भारतको राफेललाई खसालेको दाबी गरे। उनका अनुसार धेरै बेसहरू र एस–४०० मिसाइल प्रणालीमा पनि ठूलो क्षति पुर्याएको दाबी छ। एजेन्सी
प्रकाशित: २ कार्तिक २०८२ ०९:३३ आइतबार





