पाकिस्तानले इरानको आणविक कार्यक्रमलाई समर्थन गर्ने घोषणा गरेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानलाई शान्तिपूर्ण तरिकाले आणविक ऊर्जा प्रयोग गर्ने अधिकार रहेको बताएका छन्।
शहबाज शरीफले भने, ‘शान्तिपूर्ण आणविक ऊर्जा प्राप्त गर्ने कुरामा पाकिस्तान इरानको साथमा छ।’ पाकिस्तानी प्रधानमन्त्रीले इरानमाथि हालै भएको इजरायली आक्रमणको निन्दा गर्दै रक्षा गरेकोमा इरानको प्रशंसा गरे।
आइतबार बेलुका इरानी राष्ट्रपति मसूद पेजेश्कियान पाकिस्तानको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। त्यस भ्रमणको क्रममा उनले पाकिस्तानसँग धेरै सम्झौताहरूमा हस्ताक्षर गरेका थिए।
प्रधानमन्त्री शरीफले आतंकवादविरुद्ध पाकिस्तान र इरानको विचार समान रहेको बताए। उनले त्यस क्षेत्रमा शान्ति र विकासको बाटो खोलिनुपर्ने बताएका हुन्।
यसैबिच इरानी राष्ट्रपति पेजेश्कियानले भने, ‘इजरायल क्षेत्रलाई अस्थिर बनाउने एजेन्डामा काम गरिरहेको छ।’ उनले मुस्लिम देशहरूले शान्तिको लागि एकजुट हुनुपर्ने कुरामा जोड दिएका थिए।
पेजेश्कियानले इजरायली आक्रमणको विरुद्धमा पाकिस्तानको समर्थनप्रति आभारी रहेको जनाउँदै पाकिस्तानसँगको राम्रो सम्बन्ध इरानको विदेश नीतिको महत्त्वपूर्ण भाग भएको उल्लेख गरे।
जानकारी अनुसार पाकिस्तान र इरानले १२ वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। यसमा व्यापार, कृषि, विज्ञान, प्रविधि, नवप्रवर्तन, सूचना तथा सञ्चार र समुद्री सुरक्षा लगायतका विषयमा सहकार्य समावेश छ। दुवै देशले द्विपक्षीय व्यापारलाई १० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेका छन्। एजेन्सी
प्रकाशित: १९ श्रावण २०८२ ११:२१ सोमबार





