इरानसँगको युद्धविरामलाई लिएर इजरायलका विपक्षी नेता यायर लापिडले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आलोचना गरेका छन्।
‘हाम्रो इतिहासमा यस्तो कूटनीतिक विपत्ति कहिल्यै आएको थिएन,’ उनी एक्समा लेख्छन्, ‘हाम्रो राष्ट्रिय सुरक्षाको मूल विषयमा निर्णय लिँदा इजरायल टेबलमा पनि थिएन।’
लापिड अगाडि भन्छन्, ‘सेनाले भनिएको सबै कुरा पूरा गर्यो [र] जनताले उल्लेखनीय लचिलोपन देखाए पनि,’ प्रधानमन्त्री नेतान्याहू ‘कूटनीतिक रूपमा असफल भए, रणनीतिक रूपमा असफल भए र उनले आफैँले राखेका कुनै पनि लक्ष्यहरू पूरा गरेनन्।’
उनी थप्छन्, ‘अहंकार, लापरबाही र रणनीतिक योजनाको अभावका कारण नेतान्याहूले गरेको कूटनीतिक र रणनीतिक क्षतिलाई मर्मत गर्न हामीलाई वर्षौं लाग्नेछ।’
बुधबार अमेरिका र इरान दुई हप्ताको युद्धविराममा सहमत भएका हुन्। शान्ति सम्झौतालाई अन्तिम रूप दिन शुक्रबार पाकिस्तानको इस्लामाबादमा वार्ता सुरु हुने भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरे अनुसार युद्धविरामपछि इरानले विश्वको तेल आपूर्तिको पाँचौँ भाग जाने महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज जलमार्ग फेरि खोल्नेछ।
इजरायली प्रधानमन्त्री नेतान्याहूले अमेरिकाले अब इरानलाई अमेरिका, इजरायल, इरानका अरब छिमेकीहरू र विश्वलाई आणविक, क्षेप्यास्त्र र आतंकवादी खतरा बन्न नदिने सुनिश्चित गर्ने अपेक्षासहित ट्रम्पको कदमको समर्थन गरेका छन्।
यद्यपि, नेतान्याहूले युद्धविराममा पाकिस्तानले भने जसरी ‘लेबनान समावेश’ नभएको स्पष्ट पारेको छ। पाकिस्तानले इरानसहित लेबनानसहितका अन्य क्षेत्रीय द्वन्द्व समेत रोकिने बताएको थियो। लेबनानमा हिज्बुल्लाहविरुद्ध इजरायली सेनाले स्थल आक्रमण जारी राखेको जनाएको छ। एजेन्सी
प्रकाशित: २५ चैत्र २०८२ १२:०२ बुधबार





