५ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

कास्कीमा दशैंको टीकाका दिन ट्राफिक नियम उल्लङ्घन गर्ने ४० जना कारबाहीमा

फाइल तस्बिर

बडादशैंको टीकाका दिन कास्कीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० जना सवारी चालक कारबाहीमा परेका छन्। टीकाका दिन सडकमा सवारीसाधनको चाप कम भए पनि नियमविपरीत सवारी चलाउनेलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

नियम उल्लङ्घन गर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेदेखि आवश्यक कागजातबिना तथा लापरबाहीपूर्वक सवारी चलाउनेसम्मका चालक छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी तथा प्रहरी सहायक निरीक्षक जनक रिजालका अनुसार यात्रुसँग बढी भाडा लिने दुईवटा सार्वजनिक सवारीसाधन र क्षमताभन्दा बढी यात्रु बोक्ने तीनवटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर कारबाही गरिएको छ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने १८ जना कारबाहीमा परेका छन्। त्यस्तै, मोबाइल फोनमा कुरा गर्दै सवारी चलाउने, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वा सवारी दर्ता किताब (ब्लुबुक) नभएका, नवीकरण नगरेका तथा हेलमेट नलगाई सवारी चलाउने १७ जनालाई पनि कारबाही गरिएको रिजालले जानकारी दिए।

टीकाका दिन कास्कीमा एउटा सवारी दुर्घटना भएको छ। पोखरा–विरौटास्थित बराल पेट्रोल पम्प क्षेत्रमा स्कुटर दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्। घाइते महिलाको उपचार भइरहेको रिजालले बताए।

दशैंका बेला सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै ट्राफिक नियमको पालना गराउने उद्देश्यले कास्कीका विभिन्न आठ स्थानमा जाँच गरिएको थियो। पोखराको नयाँबजार, बगरस्थित ट्याक्सीचोक, घारीपाटन, मिलनचोक, पेन्सन क्याम्प, अर्घौं र छोरेपाटनस्थित बरको बोट क्षेत्रमा ट्राफिक प्रहरीले जाँच गरेको थियो।

ट्राफिक व्यवस्थापन र जाँचका लागि २४ जना प्रहरी परिचालन गरिएको रिजालले बताए। उनका अनुसार सम्भावित दुर्घटना न्यूनीकरण गर्नुका साथै सवारी चालकलाई ट्राफिक नियम पालनाप्रति सचेत गराउने उद्देश्यले जाँच गरिएको हो।

प्रकाशित: ५ कार्तिक २०८३ २०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App