२७ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका पूर्व सीईओ जेन्सेन हुआङ र वाणिज्यमन्त्री हावर्ड लुटनिकलाई अमेरिकी संसदको संसदीय समितिमा उपस्थित भएर बयान दिन आग्रह गरिएको छ। 

एनभिडियासँग जोडिएको जासुसी विवाद र चीनमा अमेरिकी प्रविधि पुगेको आशंकाबारे सांसदहरूले दुवैसँग जवाफ मागेका हुन्।

सिनेट बैंकिङ समितिका अध्यक्ष टिम स्कटले हुआङलाई डिसेम्बर ३ र लुटनिकलाई डिसेम्बर १० मा समितिसमक्ष उपस्थित हुन पत्र पठाएका छन्। लुटनिकले भने स्वेच्छाले उपस्थित भएर समितिका प्रश्नको जवाफ दिन सहमति जनाएको उनका प्रवक्ताले बताएका छन्। लुटनिकको सुनुवाइ सार्वजनिक हुनेछ।

यसअघि अमेरिकी प्रतिनिधिसभाका चीनसम्बन्धी हाउस सेलेक्ट कमिटीसहित तीन समितिले पनि हुआङलाई डिसेम्बर १ मा बन्द कोठामा हुने छलफलमा उपस्थित हुन आग्रह गरेका थिए। उनी उपस्थित हुन सहमत नभए कानुनी आदेश जारी गरेर भए पनि बोलाउने चेतावनी दिइएको थियो। अब हुआङ पनि संसदीय समितिमा उपस्थित हुन तयार भएको भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

विवाद सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग जेन्सेनको कथित सम्बन्धसँग जोडिएको छ। एलिसमाथि चीनका लागि जासुसी गरेको आशंका गरिएको छ। अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चेले भने यसबारे न्याय मन्त्रालयले अहिलेसम्म कुनै निष्कर्ष ननिकालेको बताएका छन्। 

कांग्रेसले एनभिडियाको मेगास्पिडसँगको सम्बन्धमाथि पनि छानबिन गरिरहेको छ। मेगास्पिडमाथि चीनमा निर्यात गर्न प्रतिबन्ध लगाइएका एनभिडियाका शक्तिशाली एआई चिप अवैध रूपमा पुर्‍याएको आरोप छ। यस विषयमा अमेरिका र सिंगापुरमा अनुसन्धान भइरहेको छ। मेगास्पिडले भने आरोप अस्वीकार गरेको छ।

लुटनिकसँग सांसदहरूले एनभिडियाका चिप चीन पुग्न नदिन अमेरिकी सरकारले के-कस्ता कदम चालेको थियो भन्नेबारे जवाफ माग्न लागेका हुन्। चिप निर्यात नियन्त्रण गर्ने वाणिज्य मन्त्रालयको भूमिका र प्रतिबन्धित चिप चीन पुग्न सक्ने अवस्था कसरी बन्यो भन्ने विषयमा पनि प्रश्न उठेको छ। मन्त्रालयले निर्यात नियन्त्रणसम्बन्धी नियम लागू गर्ने जिम्मेवारी पाएको छ।

केही सांसदले लुटनिकले प्रतिबन्धित चिपको निर्यात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भने लुटनिकप्रति पूर्ण विश्वास रहेको जनाएको छ।

यसैबिच, ट्रम्पले हुआङको बचाउ गर्दै उनले ‘शानदार काम गरेका’ बताएका छन्। तर रिपब्लिकन र डेमोक्र्याट दुवै दलका सांसदले घटनाबारे थप जवाफ आवश्यक रहेको बताएका छन्।

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ। 

यसैबिच, कम्पनीकी प्रमुख वित्तीय अधिकृत कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको छ। एजेन्सी

प्रकाशित: २७ कार्तिक २०८३ ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App