१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केतन हत्या प्रकरणमा नयाँ ट्विस्ट : ‘क्राइम पेट्रोल’ हेरेर योजना, तेस्रो व्यक्तिलाई पनि जानकारी

भारत, महाराष्ट्रको पुणेमा भएको केतन अग्रवाल हत्या प्रकरणमा नयाँ खुलासा भएको छ। 

प्रहरी स्रोतका अनुसार हत्याका मुख्य अभियुक्त सिया गोयल र चेतन चौधरीले अनुसन्धानबाट बच्ने तरिका सिक्न घटना हुनुअघि टेलिभिजन सिरियल ‘क्राइम पेट्रोल’ का धेरै एपिसोडहरू हेरेका थिए।

दैनिक भास्करका अनुसार यस प्रकरणमा प्रहरीले बीडका एक युवकलाई पक्राउ गरेको छ। दाबी अनुसार सिया र चेतनले केतनको हत्या गर्ने आफ्नो योजना ती तेस्रो व्यक्तिसँग साझा गरेका थिए। प्रहरीले ती व्यक्तिको नाम गोप्य राखेको छ र उनलाई साक्षीका रूपमा उभ्याउने तयारी गरेको छ।

जानकारी अनुसार केतन र सियाको फेब्रुअरी ११ मा इन्गेजमेन्ट भएको थियो। सिया र चेतनबीचको सम्बन्धमा केतन बाधक बनेकाले उनको हत्याको योजना बनाइएको प्रहरीको निष्कर्ष छ। हत्याका लागि सियाले मे ३१ देखि नै योजना बुन्न थालेकी थिइन्।

१४ जुनमा पहिलो प्रयास गरिएको थियो। सो अनुसार सियाले केतनलाई लोहागढ किल्लामा लगेर धकेलेकी थिइन्। केतन रूखमा अडिएर बाँचे। उनले सोध्दा सियाले झूटो बोल्दै भनेकी थिइन्, ‘त्यहाँ एउटा सर्प थियो, मैले तिमीलाई बचाउन धकेलेको थिएँ।’ केतनले सियाले ज्यान बचाएको भन्दै परिवारलाई समेत सुनाएका थिए।

१८ जुनमा सियाले विवाहपूर्वको फोटोसुटको बहाना बनाएर केतनलाई पुनः लोहागढ किल्लामा लगिन्। यसपटक चेतन पनि उनीहरूसँगै थिए। केतन पहाड हेरिरहेको समयमा उनीहरूले पछाडिबाट धकेलेर हत्या गरे।

पुणेको स्थानीय अदालतले सिया गोयल र चेतन चौधरीलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ। बिहीबार प्रहरीले सियाको घरबाट घटनाको दिन उनले लगाएका लुगा र डिजिटल प्रमाणहरू बरामद गरेको छ। प्रहरीले सिया र चेतनले केतनलाई मार्ने षड्यन्त्रको पूर्वाभ्यास गरेको लुलनगर क्षेत्रको पहाडमा लगेर घटनास्थलको मुचुल्का समेत तयार पारेको छ।

केतनले जुन १९ मा सियाको जन्मदिन मनाउन महाबलेश्वरमा लक्जरी रिसोर्ट बुक गरेका थिए। तर जन्मदिन अघि नै उनको हत्या भयो। प्रहरीले घटनाको थप सूक्ष्म अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १९ असार २०८३ १९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App