२३ श्रावण २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एन्ड्र्यु माउन्टब्याटन–विन्डसरमाथि नयाँ प्रश्न: राजकीय सम्पत्तिबाट आय आर्जन गरेको खुलासा

तस्बिर: रोएटर्स

बेलायतको सार्वजनिक खर्च अनुगमन गर्ने निकाय नेशनल अडिट अफिस (एनएओ) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले एन्ड्र्यु माउन्टब्याटन–विन्डसरले रोयल लज परिसरभित्रका तीन वटा कुटीर (कॉटेज) उपभाडामा दिएर अघोषित आम्दानी गरेको खुलासा गरेको छ।

एनएओको २० वर्षयताको पहिलो विस्तृत प्रतिवेदनले एन्ड्र्यु, उनका परिवार र कर्मचारीहरूले प्रयोग गरिरहेका १२ वटा राजकीय सम्पत्तिको अवस्था र व्यवस्थापनबारे जानकारी दिएको छ। ती सम्पत्तिहरू क्राउन इस्टेट वा राजपरिवारको स्वामित्वमा रहेका छन्।

प्रतिवेदनअनुसार एन्ड्र्युले रोयल लजको दीर्घकालीन भाडा सम्झौता लिँदा करिब ७.५ मिलियन पाउन्ड बराबरको मर्मत खर्च आफैंले व्यहोरेका कारण मासिक भाडा तिर्नु नपरेको उल्लेख गरिएको छ। तर सोही परिसरभित्र रहेका तीन वटा कुटीर उपभाडामा दिई उनले अतिरिक्त आम्दानी गरेको तथ्य सार्वजनिक भएको हो। प्रतिवेदनमा उक्त आम्दानीको रकम भने खुलाइएको छैन।

यसैबीच, एन्ड्र्युका छोरीहरू प्रिन्सेस युजेनी र प्रिन्सेस बिएट्रिस, जो हाल कार्यरत राजपरिवारका सदस्य होइनन्, उनीहरूका लागि केन्सिङ्टन प्यालेस र सेन्ट जेम्स प्यालेसस्थित आवासको भाडा राजा चार्ल्स तृतीयको व्यक्तिगत कोषबाट भुक्तानी हुने तथ्य पनि प्रतिवेदनले उजागर गरेको छ।

दुवै राजकीय भवनको मर्मत तथा सञ्चालन खर्च भने सार्वभौम अनुदान (सोभरेन ग्रान्ट) मार्फत सार्वजनिक कोषबाट व्यहोर्ने गरिन्छ। यद्यपि दरबार स्रोतले राजपरिवारको व्यक्तिगत कोषबाट तिरिने भाडाले सार्वजनिक खर्चको क्षतिपूर्ति गर्ने भएकाले करदातामाथि अतिरिक्त भार नपर्ने दाबी गरेको छ।

पूर्व गृह मन्त्रालयका मन्त्री तथा राजपरिवारको वित्तीय व्यवस्थापनका आलोचक नर्मन बेकरले यस्तो व्यवस्थालाई “विलासी आवासमा दिइएको अनुचित सहुलियत” भन्दै आलोचना गरेका छन्। उनले सामान्य नागरिकले उच्च घरभाडा र आवास अभावको समस्या झेलिरहेका बेला गैर–कार्यरत राजपरिवारका सदस्यहरूले विशेष सुविधा पाउनु उचित नभएको बताएका छन्।

बकिङ्घम दरबारले भने प्रतिवेदनलाई राजपरिवारको पारदर्शिताप्रतिको प्रतिबद्धतासँग मेल खाने दस्तावेजका रूपमा व्याख्या गरेको छ। यद्यपि प्रतिवेदन सार्वजनिक भएपछि राजपरिवारको आवास व्यवस्थापन तथा विशेष सुविधाबारे पुनः बहस सुरु भएको छ।

प्रकाशित: २२ जेष्ठ २०८३ १६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App