इजरायली प्रधानमन्त्री नेतान्याहुले गाजावासी भोकमरीमा परेको कुरा अस्वीकार गर्दै इजरायलविरुद्ध ‘विश्वव्यापी झूटको खेती’ चलाइएको आरोप लगाएका छन्। आइतबार विदेशी पत्रकारसँगको साक्षात्कारमा उनले यस्तो दाबी गरेका हुन्।
‘हमासले हतियार त्याग्न अस्वीकार गरेकोले इजरायलसँग हमासलाई पूर्णरूपमा पराजय गर्नबाहेक विकल्प छैन,’ उनले भने। नेतान्याहुले गाजामा ‘दुई बाँकी हमासका गढ’ ध्वस्त पार्ने उद्देश्य रहेको बताएका छन्।
इजरायलको सुरक्षा मन्त्रिपरिषदले शुक्रबार गाजा सहरमाथि पूर्ण सैन्य कब्जालाई अनुमोदन गरेको छ। उसले गाजाको ७५ प्रतिशत भाग नियन्त्रण गर्छ, सिमाना बन्द गरेको छ।
नेतान्याहुले गाजामा सहायता अभावको चिन्ता सम्बोधन गर्दै भोकमरीले ग्रस्त बालबालिकाको तस्बिर नक्कली भएको आरोप लगाए। ‘यो सम्मेलनको उद्देश्य झूट पन्छाउन र सत्य फैलाउन हो,’ उनले भने।
सहायता संस्थाले क्षेत्र अनिकालको संघारमा रहेको र प्यालेस्टिनी अधिकारीले कुपोषणबाट एक सय जनाको मृत्यु भएको बताएका छन्। नेतान्याहुले भने, ‘हाम्रो भोकमरी नीति भएको भए गाजामा कोही बाँच्ने थिएन।’
उनले हमासले सहायता ट्रक लुटेको र खाना सडिरहेको दाबी गरेका छन्। संयुक्त राष्ट्रसङ्घलाई वितरण नगरेको आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्रश्नमा उनले ‘सयौँ’ सहायता ट्रक गाजामा प्रवेश गरेको र खाद्यान्नको मूल्य घटिरहेको दाबी उनको छ।
संयुक्त राष्ट्रसङ्घले निन्दा गरे पनि उनले थप सहायता खसाल्न आह्वान गरेका छन्। गाजा युद्ध ७ अक्टोबर २०२३ मा हमासको आक्रमणबाट सुरु भएको थियो। सो घटनामा एक हजार २०० जना मारिएका थिए भने २५१ जनालाई अपहरण गरिएको थियो। धेरैजसो बन्धक रिहा भए पनि ५० जना अझै हमासको कब्जामा छन्।
त्यसपछि इजरायलले गाजामा कारबाही जारी राखेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा ६१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। एजेन्सी
प्रकाशित: २५ श्रावण २०८२ २२:०८ आइतबार