१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेतान्याहूको अबुधाबी भ्रमण : राष्ट्रपति बिन जायदसँग भेट

फाइल तस्बिर

संयुक्त अरब इमिरेट्स (युएई)ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सप्ताहन्तमा अबुधाबी भ्रमणका क्रममा राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गरेको पुष्टि गरेको छ।

सोमबार युएईले भ्रमणबारे पुष्टि गरेको हो। इमिरेट्स समाचार एजेन्सी (डब्ल्यूएएम)का अनुसार भेटमा युएई र इजरायलबिचको द्विपक्षीय सम्बन्ध तथा त्यसलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो।

नेतान्याहूको यो भ्रमण इजरायलमा अक्टोबरमा हुने नेसेट चुनावको करिब एक महिनाअघि भएको हो। भ्रमणबारे इजरायली सञ्चारमाध्यमले यसअघि नै समाचार सार्वजनिक गरेका थिए।

यसैबिच, युएईका राष्ट्रपति बिन जायदले सन् २०२३ को अक्टोबर ७ को घटनाअघि नेतान्याहूलाई हमासको ठूलो कारबाही हुन सक्ने चेतावनी दिएको दाबीसम्बन्धी रिपोर्ट पनि चर्चामा आएको छ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले भने यस्तो जानकारी नेतान्याहूले पहिले नै पाएको दाबी अस्वीकार गरेको छ। नेतान्याहूले उक्त रिपोर्टलाई ‘मनगढन्ते’ र ‘राजनीतिक रूपमा प्रेरित’ भन्दै कानुनी कारबाही गर्ने बताएका थिए।

युएई र इजरायलबिच सन् २०२० मा अमेरिकाको मध्यस्थतामा भएको अब्राहम सम्झौतापछि सम्बन्ध थप नजिकिएको हो।

प्रकाशित: १३ आश्विन २०८३ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App