७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेतान्याहूको दाबी : इरानको आणविक र सैन्य शक्ति पूर्ण रूपमा ध्वस्त भयो

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानविरुद्धको युद्धमा ऐतिहासिक सफलता हासिल गरेको दाबी गर्दै सार्वजनिक सम्बोधन गरेका छन्। एक विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले इरानको आणविक र सैन्य क्षमता अब पूर्ण रूपमा समाप्त भएको दाबी गरेका हुन्।

प्रधानमन्त्री नेतान्याहूका अनुसार इरानविरुद्धको यो युद्धको मुख्य लक्ष्य नै आणविक र ब्यालेस्टिक मिसाइलको खतरालाई निर्मूल पार्नु थियो। उनले भने, ‘इरान अब युरेनियम प्रवर्द्धन गर्न वा नयाँ ब्यालेस्टिक मिसाइलहरू उत्पादन गर्न सक्षम छैन।’ 

उनले इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका ती कारखानाहरूलाई ध्वस्त पारेको बताए, जसले मिसाइलका मुख्य पार्टपुर्जाहरू उत्पादन गर्थे। यस कारबाहीले इरानको सैन्य नियन्त्रण प्रणालीलाई पूर्ण रूपमा क्षतविक्षत बनाएको उनको दाबी छ।

नेतान्याहूले हालै इरानको ‘दक्षिण पार्स’ ग्यास केन्द्रमा भएको आक्रमण इजरायलले एक्लै गरेको खुलासा पनि गरेका छन्। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष अनुरोधमा अब इजरायलले उक्त ग्यास क्षेत्रमा थप आक्रमण नगर्ने निर्णय गरेको छ। नेतान्याहूले राष्ट्रपति ट्रम्पसँगको समन्वय ‘उत्कृष्ट’ रहेको बताउँदै भने, ‘मैले आफ्ना निर्णयहरू आफैँ गर्छु, तर हामी अमेरिकाको सुझावलाई सम्मान गर्छौँ।’

इरानले होर्मुज जलमार्ग बन्द गरेर विश्वलाई दबाब दिने प्रयास गरे पनि त्यो सफल नहुने नेतान्याहूले स्पष्ट पारेका छन्। उनका अनुसार इजरायलले उक्त जलमार्ग खुला राख्नका लागि अमेरिकालाई आवश्यक गुप्तचरी र अन्य प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।

इरानी सरकार कमजोर भइरहेका धेरै संकेतहरू देखिएको दाबी गर्दै नेतान्याहूले यो युद्धले इरानी जनतालाई स्वतन्त्रता प्राप्त गर्ने र आफ्नो भविष्य आफैँ निर्धारण गर्ने अवसर दिने बताए। सडकमा जनप्रर्दशनको बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘अहिले नै इरानी जनता सडकमा उत्रिएलान् भन्नु हतार हुन्छ। क्रान्ति आकाशबाट (हवाई हमलाले) मात्र सुरु हुँदैन, यसका लागि जमिनमा पनि ठोस कदम चाल्नु आवश्यक छ।’

२० दिनसम्म चलेको यस युद्धमा आफू सुरक्षित रहेको र युद्ध जितिरहेको सन्देश दिँदै नेतान्याहूले यो द्वन्द्व मानिसहरूले सोचेभन्दा चाँडै अन्त्य हुन सक्ने संकेत समेत गरेका छन्। इरानको लुकेर बस्ने र हवाई आक्रमणबाट बच्ने प्रयासलाई इजरायलले पूर्ण रूपमा विफल तुल्याइदिएको उनको जिकिर छ। एजेन्सी 

प्रकाशित: ६ चैत्र २०८२ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App