२८ भाद्र २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चराको बथानलाई ड्रोन ठानेर नेटोको लडाकु विमान परिचालन गरेपछि...

फाइल तस्बिर

लिथुआनियाको भिल्नियस विमानस्थलमा सम्भावित ड्रोन देखिएपछि आइतबार केही समय उडान बन्द गरिएको छ।

उक्त घटनापछि प्रतिक्रिया दिन नेटोको कम्तीमा एउटा लडाकु विमान परिचालन गरिएको थियो। तर पछि आकाशमा देखिएको वस्तु ड्रोन नभई चराको बथान भएको पुष्टि भयो। 

लिथुआनियाको राष्ट्रिय संकट व्यवस्थापन केन्द्रका अनुसार लडाकु विमानले आकाशमा देखिएको वस्तुको पहिचान गरेपछि हवाई सतर्कता हटाइएको हो। त्यसको ३८ मिनेटभित्र विमानस्थल पुनः सञ्चालनमा आएको थियो। केन्द्रले प्रारम्भिक राडार संकेतमा चराको बथान र ड्रोनबाट देखिने संकेत उस्तै हुन सक्ने बताएको छ।

नेटोको लडाकु विमान उत्तरी लिथुआनियाको सियाउलियाईबाट परिचालन गरिएको थियो। त्यहाँ इटालीको वायुसेना नेटोको बाल्टिक हवाई सुरक्षा अभियानअन्तर्गत तैनाथ छ।

युक्रेन युद्धका कारण फिनल्यान्ड, इस्टोनिया, लाटभिया र लिथुआनियाको हवाई क्षेत्रमा सैन्य ड्रोन प्रवेश गर्ने घटनाले चिन्ता बढाइरहेको छ। यसअघि अगस्टमा नेटोको एफ-१८ लडाकु विमानले रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेको ड्रोन खसालेको थियो।

रोमानियाले पछिल्ला चार वर्षमा रुसी ड्रोनसँग सम्बन्धित धेरै हवाई घटना रेकर्ड गरेको छ। गत वर्ष अक्टोबरमा पनि रुसी सैन्य विमान लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेपछि नेटोले लडाकु विमान परिचालन गरेको थियो।

त्यसबेला लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले घटनाको निन्दा गरेका थिए। रुसले भने आफ्ना विमानले कुनै देशको हवाई क्षेत्र उल्लंघन नगरेको बताएको थियो। एजेन्सी

प्रकाशित: २८ भाद्र २०८३ १८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App