दक्षिण केन्यामा अझै रहस्यमय रोगको सम्भावित शिकार भएको एउटा हात्ती जमिनमा ढलेर धुलो उडाउँदै उठ्ने व्यर्थ प्रयास गर्दै थियो। उ निकै थकित देखिन्थ्यो।
समस्यामा परेको हात्तीलाई देख्ने बित्तिकै चिन्तित पशु चिकित्सकहरूले ग्लुकोज (इन्जेक्सन) दिए। कारण अज्ञात भएकाले यही मात्र विकल्प थियो। ग्लुकोजको मात्रा दिँदासम्म ११ वर्षीय हात्ती ‘गेङ्गिस खान’लाई सास फेर्न गाह्रो भइरहेको थियो।
यो रहस्यमय रोगले जुनदेखि केन्यामा पोथी तथा युवा भाले हात्ती गरी कम्तीमा १९ हात्ती मारेको छ र सबै जनावरमा आंशिक पक्षघातलगायत समान लक्षण देखिएका छन्।
हात्तीका बथानले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोबाट देखिने अम्बोसेलीलाई लाभदायक पर्यटकीय केन्द्र बनाएको छ र यस क्षेत्रका हात्तीको रहस्यमय मृत्यु पर्यटनको ठूलो आम्दानीको स्रोत भएको देशमा संवेदनशील मुद्दा बनेको छ।
ओल्गुलुलुइ सामुदायिक भूमिका सञ्चालन प्रमुख प्याट्रिक पापाटिटीले भने, 'हात्ती सङ्क्रमित भएको करिब तीन दिनसम्म उसले बाँच्नका लागि सङ्घर्ष गरिरहेको पाउनुहुन्छ। जब उसले प्राणत्याग गर्छ तब मात्र उसले पीडाबाट मुक्ति पाउँछ।' ओल्गुलुलुइ सामुदायिक जङ्गल क्षेत्रमा रहेको ‘किटेन्डेन बी आरिजर्भ’ मा गेङ्गिस खान फेला परेको थियो।
जुलाईको अन्त्यमा केन्या वन्यजन्तु सेवा (केडब्ल्यूएस) ले विषाक्तता परीक्षण विज्ञान प्रतिवेदनमा जनावरका शवमा उच्च मात्रामा साइनाइड पाइएको बताएको थियो, जसले नजिकका खेतका बालीबाट आएको सम्भवतः कीटनाशक विषाक्तता आएका कारण उनीहरू विरामी परेको सुझाएको थियो।
–शवहरू –
प्रत्यक्षदर्शीहरूले मृत्युको सम्भावित कारणमाथि प्रश्न उठाएका छन् भने एएफपीसँग अन्तर्वार्ता दिएका धेरै विशेषज्ञले विषाक्ततालाई अस्वीकार गरे। 'यो रोग हो,' स्थानीय मासाई समुदायमा जन्मिएर हुर्केका पापाटिटीले भने, 'त्यहाँ साइनाइड संलग्न हुने ‘कुनै उपाय छैन।’
उनले त्यहाँ अन्य कुनै जनावर नमरेको औँल्याउँदै केडब्ल्यूएसको प्रारम्भिक निष्कर्ष सार्वजनिक रूपमा अस्वीकार गरे। उनी थोरै स्थानीय आवाजमध्ये एक छन् जसले यो दाबी गरेका छन्।
त्यहाँ विशेष गरी, कथित विषाक्त शव खाएका सफा गर्ने जनावर वा झिंगा मरेका छैनन्। जुन विषाक्त जनावर खाएपछि सामान्यतया मर्छन्।
'यदि अर्को जनावरले त्यो शव खान्छ र मर्दैन भने, निश्चित रूपमा त्यो रसायन होइन,' काजियाडो काउन्टी अधिकारीहरूका लागि अम्बोसेली पारिस्थितिकी तंत्र प्रबन्धक जोएल न्याइकाले एएफपीसँग भने। उनले केडब्ल्यूएसले अगाडि सारेको सिद्धान्त पनि अस्वीकार गरे। उनले भने, 'साइनाइड कुनै प्रकारको पातबाट आएको हुन सक्ने दाबी अस्वीकार्य छ किनकि त्यस षेत्रमा अन्य जनावर मरेका छैनन्।
न्याइकाले भने, 'वन्यजन्तु प्रबन्धकका रूपमा हामी विश्वास गर्छौं कि यो यी हात्तीलाई मात्र असर गर्ने रोग हुन सक्छ।'
अगस्ट ७ मा केडब्ल्यूएसले ‘अहिलेसम्मका निष्कर्षले सङ्क्रामक वा सर्ने रोग नदेखाएको’ बताउँदै पर्यटकहरूले भ्रमण जारी राख्न सक्ने आश्वासन दियो। तर किमाना आरिजर्भमा एएफपी पत्रकारहरूले बुधबार छ वटा शव देखेका बताए। तीमध्ये केही नयाँ केही पुराना थिए। उनीहरूमा मृत्युपूर्व आंशिक पक्षघात देखेको स्थानीय बनपालेले जनाएका छन्।
–मृत्यु हुने क्रम जारी–
केही मृत्यु केही दिनअघि मात्र भएका थिए। तीमध्ये हात्तिको एउटा चार महिनाका छावाको शव आधा हाइनाले खाएको र आधा भाग झिंगाले घेरिएको थियो। लगभग एक दर्जन गिद्धहरू गर्भवती पोथी हात्तीको अवशेष खाँदै थिए, जो लगभग पूर्ण अवधिमा मरेकी थिइन् तर उनको पेटमा छावा थियो।
संरक्षणवादी र ‘वाइल्डलाइफ डाइरेक्ट’की प्रमुख पौला काहुम्बुले कीटनाशक सिद्धान्तलाई समर्थन गर्ने ‘प्रमाणको अभाव’ औंल्याए। एएफपीसँगको अन्तर्वार्तामा उनले वयस्क नर हात्ती थोरै मरेको उल्लेख उनले गरे। जबकि बाली आक्रमण गर्ने सम्भावना सबैभन्दा बढी उनीहरूमा हुन्छ।
ओल्गुलुलुइका पापाटिटीले जानाजानी विषाक्तता दिइएको दाबी पनि अस्वीकार गरे। उनले व्यक्तिमा दोष लगाउनेभन्दा कारण पत्ता लगाउनेमा जोड दिनुपर्ने बताए।
मृत्युको संवेदनशीलताले वन्यजन्तु समुदायलाई डराएको छ, धेरै वातावरणीय संगठनले पूर्ण अनुसन्धानको मागबाहेक एएफपीलाई टिप्पणी गर्न अस्वीकार गरे भने ‘किमाना आरिजर्भ’का रेञ्जरहरूले बोल्न अधिकार नभएको बताए।
पापाटिटीले मृत्यु सङ्ख्या कम आँकिएको र यो रोग छिमेकी तान्जानियाका हात्तीलाई पनि असर गरिरहेको हुन सक्ने डर व्यक्त गरे र भने, 'हामी यो रोक्न सक्नुअघि कति हात्ती मर्नेछन्? अझै थाहा छैन।' एएफपी
प्रकाशित: २९ श्रावण २०८३ ०७:१७ शुक्रबार





