हालै सार्वजनिक भएको ‘एपस्टाइन फाइल’मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नाम मुछिएको छ।
यसले भारतमा विपक्षीहरूबाट गम्भीर प्रश्न उठाएको छ। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री मोदी र जेफ्री एपस्टाइनबिच भेटघाट वा सल्लाह लिएको दाबीलाई अस्वीकार गरेका छन्।
अमेरिकी यौन अपराधी तथा मानव तस्कर जेफ्री एपस्टाइनसँग सम्बन्धित फाइलहरूमा मोदीको नाम रहेको कांग्रेसले शनिबार दाबी गरेको थियो।
कांग्रेस नेता पवन खेडाले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो राष्ट्रिय लज्जाको कुरा हो। प्रधानमन्त्री मोदीले अगाडि आएर हाम्रा तीन प्रश्नहरूको जवाफ दिनुपर्छ।’
तीन प्रश्नमा कांग्रेसले भनेको छ, ‘नरेन्द्र मोदीले जेफ्री एपस्टाइनबाट कस्तो सल्लाह लिएका थिए? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुन फाइदाका लागि मोदी इजरायलमा नाचगान गरे? एपस्टाइनले लेखेका छन्– यसले काम गर्यो... त्यसो भए यसको अर्थ के हो?’
थप लेखिएको छ, ‘नरेन्द्र मोदीजी, देशले जवाफ मागिरहेको छ। सिरियल बलात्कारी एपस्टाइनसँग तपाईंको के सम्बन्ध छ?’
विदेश मन्त्रालयले यी आरोपहरूलाई अस्वीकार गर्दै विज्ञप्ति जारी गरेको छ। मन्त्रालयका अनुसार जुलाई २०१७ मा प्रधानमन्त्री मोदीको इजरायलको आधिकारिक भ्रमणबाहेक बाँकी इमेलहरू ‘एक दोषी अपराधीको बकवास’ हुन्, जसलाई पूर्ण रूपमा बेवास्ता गर्नुपर्छ।
‘हामीले तथाकथित एपस्टाइन फाइलहरूबाट एउटा इमेल सन्देशको रिपोर्ट प्राप्त गरेका छौँ। त्यसमा प्रधानमन्त्री र उनको इजरायल भ्रमणको उल्लेख छ। जुलाई २०१७ मा प्रधानमन्त्रीको इजरायलको आधिकारिक भ्रमणबाहेक, बाँकी इमेलहरू एक दोषी अपराधीको बकवासबाहेक अरू केही होइनन्, जसलाई पूर्ण रूपमा बेवास्ता गर्नुपर्छ।’
कांग्रेसले सामाजिक सञ्जालमार्फत दाबी गरेको थियो कि एपस्टाइनको इमेलमा लेखिएको छ, ‘भारतीय प्रधानमन्त्री मोदीले सल्लाह लिएर अमेरिकी राष्ट्रपतिको हितका लागि इजरायलमा नाचगान गरे। केही हप्ता अघि उनीहरू भेटेका थिए। यसले काम गर्यो।’
कांग्रेसले थप लेख्यो, ‘एपस्टाइनले स्पष्ट रूपमा भनेका छन् कि मोदीले मबाट सल्लाह लिएर इजरायल गए र अमेरिकी राष्ट्रपतिको हितका लागि नाचगान गरे। उनले यो पनि भने कि यसले काम गर्यो।’
‘याद राख्नुहोस्–प्रधानमन्त्री मोदी जुलाई ४ देखि ६, २०१७ सम्म इजरायल भ्रमणमा थिए। एपस्टाइनले यो इमेल त्यसको तीन दिनपछि लेखेका थिए। इजरायल भ्रमणको ठीक अघि जुन २५–२६, २०१७ मा मोदीले अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका थिए। यदि हामीले एपस्टाइनको इमेलमा भएका लिंकहरू जोड्यौँ भने, यो स्पष्ट हुन्छ कि मोदी जुन २०१७ मा अमेरिका गएका थिए र त्यहाँ एपस्टाइनसँग सल्लाह लिएका थिए।’
‘एक हप्तापछि मोदी इजरायल आइपुगे र सल्लाहअनुसार त्यहाँ नाचगान गरे, र काम सकियो। अब यो स्पष्ट छ कि प्रधानमन्त्री मोदीको जेफ्री एपस्टाइनसँग गहिरो र लामो समयदेखिको सम्बन्ध छ, जुन भारतका लागि लज्जास्पद छ। यो राष्ट्रिय मर्यादा र अन्तर्राष्ट्रिय प्रतिष्ठाको कुरा हो, जसको लागि प्रधानमन्त्री मोदीले जवाफ दिनुपर्छ।’
हालै, अमेरिकी न्याय विभागले जेफ्री एपस्टाइनसँग सम्बन्धित लाखौँ नयाँ फाइलहरू सार्वजनिक गरेको थियो। शुक्रबार ३० लाख पृष्ठ, एक लाख ८० हजार तस्बिर र २ हजार भिडियो जारी गरिएका थिए।
यी फाइलहरूमा अमेरिकी राष्ट्रपति ट्रम्पको सयौँ पटक उल्लेख छ। ट्रम्प एपस्टाइनसँग मित्र थिए तर ट्रम्पले वर्षौं अघि यो सम्बन्ध बिग्रिएको बताएका थिए र एपस्टाइनको यौन अपराधबारे कुनै जानकारी नभएको टिप्पणी गरेका थिए।
यी फाइलमा एपस्टाइन र टेक अर्बपति एलन मस्कबिचको इमेल कुराकानी पनि समावेश छ। एपस्टाइनले सन् २०१९ मा जेलभित्रै आत्महत्या गरेको दाबी गरिएको थियो। एजेन्सी
प्रकाशित: १८ माघ २०८२ ०७:३८ आइतबार

