भारतको राजधानी नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच द्विपक्षीय भेटवार्ता भएको छ।
भारत मण्डपमा भएको भेटका क्रममा दुई नेताले भारत–रुसबीचको व्यापार तथा आर्थिक सम्बन्ध थप विस्तार गर्ने विषयमा छलफल गरेका छन्। सन् २०३० सम्म दुई देशबीचको द्विपक्षीय व्यापार १०० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्यलाई अघि बढाउने विषय पनि वार्ताको प्राथमिकतामा रहेको छ।
वार्तामा औद्योगिक सहकार्य, रेल तथा सुरुङ निर्माण, इस्पात क्षेत्र र रुसी बजारमा भारतीय उत्पादन तथा कम्पनीको पहुँच विस्तारबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
त्यस्तै, नागरिक आणविक क्षेत्रमा सहकार्य विस्तार, इन्धन आपूर्ति तथा आणविक संयन्त्रसँग सम्बन्धित दीर्घकालीन सहयोगका विषयमा पनि दुई पक्षबीच कुराकानी भएको बताइएको छ।
मोदी र पुटिन सम्मेलनस्थलमा एउटै कारमा पुगेका थिए। भेटअघि दुई नेताले आत्मीय रूपमा अँगालो हाल्दै भेट गरेका थिए। रक्षा सहकार्य, विशेषगरी रुसी सुखोई–५७ लडाकु विमानसम्बन्धी सम्भावित सहकार्यबारे पनि छलफल हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच इरानी राष्ट्रपति मसुद पेजेसकियान पनि ब्रिक्स सम्मेलनमा सहभागी हुन दिल्ली पुगेका छन्। उनले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।
भारतको अध्यक्षतामा भइरहेको ब्रिक्स सम्मेलनमा व्यापार, आर्थिक सहकार्यसँगै विश्वव्यापी राजनीतिक तनाव, क्षेत्रीय सुरक्षा, शान्ति र बहुपक्षीय सहकार्यका विषयले समेत प्राथमिकता पाउने देखिएको छ। सम्मेलनका लागि नयाँ दिल्लीमा उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ।
प्रकाशित: २६ भाद्र २०८३ १८:०२ शुक्रबार





