बेलायतका राजा चार्ल्सले आफ्ना भाइ प्रिन्स एन्ड्रूलाई उनका सबै राजकीय उपाधि र सम्मानबाट वञ्चित गर्ने र विन्डसरस्थित राजकीय निवासबाट निष्कासित गर्ने औपचारिक प्रक्रिया सुरु गरेका छन्। यो कदम उनको बदनाम सम्बन्धी मुद्दा अमेरिकी यौन अपराधी जेफ्री एप्सटिनसँगको सम्बन्धका कारण उत्पन्न भएको राजपरिवारभित्रको सबैभन्दा ठूलो संकट नियन्त्रण गर्ने प्रयासको रूपमा देखिएको छ।
बकिंघम प्यालेसले यो निर्णयलाई ‘आवश्यक कारबाही’ भनेर वर्णन गरेको छ। यससँगै विगतका दशकमै ब्रिटिश राजपरिवारभित्रको यो सबैभन्दा गम्भीर दरार बनेको छ। अब मुख्य प्रश्न उठेको छ — के यो कदमले राजकुमार एन्ड्रूको एप्सटिनसँगको सम्बन्धबाट राजपरिवारलाई सुरक्षित राख्न पर्याप्त हुनेछ?
६५ वर्षका एन्ड्रू १५ वर्षदेखि एप्सटिनसँगको मित्रताका कारण विवादमा परिरहेका थिए। भर्जिनिया जिउफ्रे नामकी महिलाले हालसालै प्रकाशित एक आत्मकथामा एन्ड्रूले आफूलाई किशोरी हुँदा यौन शोषण गरेको आरोप लगाएकी थिइन्। एन्ड्रूले भने ती आरोपहरू अस्वीकार गर्दै आएका छन् र आफूले जिउफ्रेलाई कहिल्यै नदेखेको दाबी गर्दै आएका छन्। तर अप्रिल महिनामा ४१ वर्षकी जिउफ्रेले आत्महत्या गरेकी थिइन्।
जिउफ्रेको परिवारले बिहीबार वक्तव्य जारी गर्दै भन्यो — ‘आज, एक सामान्य अमेरिकी युवतीले आफ्नो सत्य र असाधारण साहसले एक ब्रिटिश राजकुमारलाई झुकाएकी छिन्।’बकिंघम प्यालेसले जारी गरेको वक्तव्यमा भनिएको छ — ‘उनको महाराजाधिराजले आज राजकुमार एन्ड्रूको ‘शैली, उपाधि र सम्मान’ औपचारिक रूपमा हटाउने प्रक्रिया सुरु गर्नुभएको छ।’
अबदेखि उनलाई ‘एन्ड्रू माउन्टब्याटन–विन्डसर’ भनेर चिनिनेछ। वक्तव्यमा भनिएको छ — ‘राजकुमार एन्ड्रूले राजकीय निवास ‘रायल लज’ मा बसोबास गर्दै आएका थिए, तर अब उनको लिज सम्झौता रद्द गरिएको छ र उनलाई वैकल्पिक निजी आवासमा स्थानान्तरण गरिनेछ।’
प्यालेसले थप जनाएको छ — ‘उनीमाथि लगाइएका आरोपहरू अस्वीकार गरिरहे पनि, यी कारबाही आवश्यक ठहरिएका छन्।’एजेन्सी
प्रकाशित: १४ कार्तिक २०८२ ०८:३५ शुक्रबार





