भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा आयोजित दीपावली मिलन कार्यक्रममा सहभागी भएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै उनले न्यूजरुममा कुनै पनि काम असम्भव नमानिने बताए।
मोदीले भूकम्प होस् वा बाढी, मानिसहरू ज्यान जोगाउन भागिरहेका बेला पत्रकारहरू आफ्नो ज्यान जोखिममा राखेर र परिवारको चिन्ता छाडेर समाचार संकलनमा खटिने गरेको बताए। समाचारको दुनियाँमा समयसीमा (डेडलाइन) सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले जीवनमा पनि समयसीमा आवश्यक रहेको बताए।
मोदीले भने, ‘म ११ अशोक रोडमा बस्ने गर्थें। एक दिन पत्रकारहरू अचानक मेरो कोठामा आए। उनीहरूले मजाक गर्दै मेरो घाँटी समातेर मिठाई खुवाउन भने। मैले केको मिठाई खुवाउने भनेर सोध्दा उनीहरूले तपाईं गुजरातको मुख्यमन्त्री बन्नुभयो भने। मलाई आफैँलाई यो कुरा थाहा थिएन, तर पत्रकारहरूले भने पहिले नै थाहा पाइसकेका रहेछन्।’
फ्याक्सदेखि इन्स्टाग्राम रिल्ससम्म आइपुग्दा सञ्चारमाध्यमको स्वरूप परिवर्तन भएको मोदीले बताए। पहिले ओबी भ्यानमार्फत समाचार संकलन तथा प्रसारण हुने गरेकोमा अहिले मोबाइल नै ओबी भ्यान बनेको उनको भनाइ थियो।
सन् २००१ मा आफू गुजरातको मुख्यमन्त्री बन्ने खबर पत्रकारहरूले आफूमा भन्दा पहिले नै पाएको प्रसंग पनि उनले सुनाए। पत्रकारहरूले आफूलाई मिठाई खुवाउन भनेको र आफ्नै खर्चमा केही पत्रकार शपथग्रहण समारोहमा समेत सहभागी हुन पुगेको उनले स्मरण गरे।
भूकम्प र बाढीजस्ता विपद्का बेला मानिसहरू ज्यान जोगाउन भागिरहेका हुन्छन्। तर पत्रकारहरू जोखिम मोलेर घटनास्थल पुग्ने गरेको मोदीले बताए। कठिन परिस्थितिमा परिवारको चिन्तासमेत नगरी समाचार सम्प्रेषणमा खटिने पत्रकारहरूको समर्पण प्रशंसनीय रहेको उनको भनाइ थियो।
पत्रकारितामा समयसीमाले कामको प्राथमिकता निर्धारण गर्न र कामको गति बढाउन सहयोग गर्ने मोदीले बताए। उनले भारतसामु पनि सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने समयसीमा रहेको उल्लेख गरे। यो लक्ष्य हासिल गर्न साना–ठूला चरणमा काम गर्नुपर्ने भन्दै सन् २०४७ सम्म पर्खेर बस्न नहुने उनको भनाइ थियो।
मोदीले भारतले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरूको चर्चा गरे।
भारत विश्वका ठूला मोबाइल फोन उत्पादक देशमध्ये एक बनेको, चिनाब नदीमाथि विश्वकै अग्लो रेल पुल निर्माण भएको तथा विश्वकै ठूलो स्टार्टअप इकोसिस्टममध्ये एकमा भारतले स्थान बनाएको उनले बताए। त्यस्तै, विश्वकै ठूलो यूपीआई प्रणाली निर्माण गरेको पनि उनको भनाइ थियो।
उनले ४ करोड परिवारलाई पक्की घर उपलब्ध गराउने, ३ करोड महिलालाई लखपति दीदी बनाउने र १२ करोड घरमा शौचालय निर्माण गर्ने लक्ष्य हासिल गरिएको दाबी गरे। भारतको रेल सञ्जाल पूर्ण रूपमा विद्युतीकरण भइसकेको पनि उनले बताए।
२१औँ शताब्दीमा सञ्चार सबैभन्दा ठूलो शक्ति भएको मोदीले बताए। भारतसँग सस्तो इन्टरनेट डेटा र विश्वसामु सुनाउन सकिने उपलब्धिका धेरै कथा रहेको उनको भनाइ थियो।
भारतीय सञ्चारमाध्यमले देशका प्रतिभा, सफलता र प्रेरणादायी व्यक्तिहरूलाई बढी स्थान दिनुपर्ने उनले बताए। देशका उपलब्धिहरू विश्वभर पुर्याउनु पनि राष्ट्रसेवाको एउटा माध्यम भएको उनको भनाइ थियो।
यस्तै, युवाहरूलाई लागुऔषधको लतबाट जोगाउन र त्यसविरुद्ध जनचेतना फैलाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने मोदीले बताए। उनले स्वच्छता, डीपफेक, राष्ट्रिय एकता र सामाजिक सद्भावजस्ता विषयलाई पनि सञ्चारमाध्यमको बहसमा स्थान दिन आग्रह गरे।
प्रकाशित: २६ कार्तिक २०८३ १४:०९ बिहीबार





