३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मंगलको चन्द्रमाबाट नमुना ल्याउन जापानको ऐतिहासिक अभियान

जापानले मंगल ग्रहको चन्द्रमा फोबोसबाट चट्टान र बालुवाका नमुना संकलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। 

जापानको अन्तरिक्ष एजेन्सी जाक्साले मंगलबार मानवरहित अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको हो।

तानेगासिमा अन्तरिक्ष केन्द्रबाट एच-३ रकेटमार्फत प्रक्षेपण गरिएको मार्सियन मुन एक्सप्लोरेसन (एमएमएक्स) यान रकेटबाट छुट्टिएर निर्धारित कक्षमा प्रवेश गरेको जाक्साले जनाएको छ। यो मंगल ग्रहको चन्द्रमाबाट नमुना ल्याउने विश्वकै पहिलो अभियान हो।

अन्तरिक्षयान सन् २०२७ को अगस्टमा मंगल ग्रहको कक्षमा पुग्ने र त्यसपछि फोबोसको अध्ययन गर्नेछ। अभियानअन्तर्गत कम्तीमा १० ग्राम सतही पदार्थ संकलन गर्ने लक्ष्य राखिएको छ। फ्रान्स र जर्मनीले संयुक्त रूपमा विकास गरेको ‘इडेफिक्स’ नामक रोभरले पनि फोबोसको सतहको अध्ययन गर्नेछ। संकलित नमुनासहितको क्याप्सुल सन् २०३१ मा पृथ्वीमा फर्काउने योजना छ।

वैज्ञानिकहरूले यो अभियानबाट मंगल ग्रहका दुई चन्द्रमा फोबोस र डिमोस कसरी बने भन्ने रहस्य खुल्ने अपेक्षा गरेका छन्। एउटा मान्यताअनुसार यी चन्द्रमा मंगल ग्रह र अर्को खगोलीय पिण्डबीचको ठक्करबाट बनेका हुन् भने अर्को मान्यताले ती मंगलको गुरुत्वाकर्षणले तानेका क्षुद्रग्रह भएको बताउँछ।

अभियानमा अमेरिका, युरोपेली अन्तरिक्ष एजेन्सी, फ्रान्स र जर्मनीले पनि सहकार्य गरेका छन्। यसबाट प्राप्त नमुनाको अध्ययनले सौर्यमण्डलको विकास र मंगल ग्रहमा जीवन अनुकूल वातावरणको सम्भावनाबारे बुझ्न सहयोग पुग्ने वैज्ञानिकहरूको अपेक्षा छ।

प्रकाशित: ३ कार्तिक २०८३ १४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App