१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा इजरायली आक्रमण: दुई दिनमै ४८ हजार विस्थापित

इजरायली सेनाको गाजामा जारी भूमिगत आक्रमणले दुई दिनमै करिब ४८ हजार मानिस भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओचा)ले जनाएको छ ।

ओचाका अनुसार अगस्ट मध्यदेखि १ लाख ९० हजारभन्दा बढी विस्थापन भएका छन् । जसमा धेरैजसो मानिसहरू अत्यधिक यातायात खर्चका कारण पैदल हिँडेर नौ घण्टासम्म यात्रा गरिरहेका छन् ।  

धेरैजसो परिवारहरू महिला र वृद्ध सदस्यहरूको नेतृत्वमा, घाइते बालबालिकासहित, तातो मौसममा खाली खुट्टा हिँडिरहेको ओचाले जनाएको छ ।

यसबीच, ओचाका सहयोगी संस्थाहरूले १ हजार पाँचसय भन्दा बढी व्यक्तिलाई मनोसामाजिक सहयोग, पानी, र स्वास्थ्य सेवा जस्ता आपत्कालीन सहयोग प्रदान गरेको पनि जनाइएको छ । जसमा नौ सय भन्दा बढी बालबालिका छन् ।

इजरायली सेनाले गाजा सिटीलाई ‘खतरनाक युद्ध क्षेत्र’ घोषणा गर्दै, त्यहाँका बासिन्दालाई दक्षिण र केन्द्रीय गाजाका भीडभाडयुक्त ‘मानवीय क्षेत्र’ हरूतर्फ सर्न आग्रह गर्दै पर्चा खसालेका छन् । तर यी क्षेत्रहरूमा समेत इजरायली वायु आक्रमण र बमबारी जारी रहेकाले ठूलो संख्यामा नागरिक हताहत भइरहेका छन् ।

गाजाका विस्थापित बासिन्दा आला इस्माइलले भने, ‘हामीसँग पैसा छैन, बुबाको स्वास्थ्य पनि कमजोर छ । गाजामा सुरक्षित ठाउँ छैन, आजको रात सडकमै सुत्नुपर्नेछ ।’

अर्का विस्थापित खलिल मतारले भने, ‘इस्रायलले ‘सुरक्षित क्षेत्र’ भनेका ठाउँहरू पनि जब इस्रायल चाहन्छ, लक्षित आक्रमणका केन्द्र बन्छन् ।’

गाजाको सञ्चार कार्यालयका अनुसार हाल दक्षिण गाजाको अल–मवासी क्षेत्रमा करिब ८ लाख मानिस भेला भइसकेका छन् । तर, यस क्षेत्रमै इजरायली आक्रमणबाट हालसम्म २ हजार भन्दा बढीको मृत्यु र १०९ भन्दा बढी आक्रमण भइसकेका छन् । यद्यपि, इजरायलले यसलाई ‘मानवीय क्षेत्र’ घोषणा गरेको छ ।

 

प्रकाशित: १ आश्विन २०८२ १६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App