दुई पटकको असफलतापछि ६४ वर्षीया साने ताकाइची लामो समयपछि जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीको नयाँ नेताको रूपमा निर्वाचित भएकी छिन्। अक्टोबर ४, २०२५ मा भएको चुनावमा विजयी भएसँगै उनी जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा पुगेकी हुन्। जसलाई संसदले अक्टोबर १५ मा पुष्टि गर्ने अपेक्षा गरिएको छ।
बेलायतकी पूर्व प्रधानमन्त्री ब्यारोनेस मार्गरेट थ्याचर लाई आफ्नो आदर्श मान्दै र आफूलाई जापानकी आइरन लेडी बनाउने व्यक्तिगत लक्ष्य लिएकी ताकाइचीले देशको नेतृत्व गर्ने अवसर र ठूलो चुनौती दुवै रहेको छ। उनले घोटालाबाट गुज्रिरहेको लिबरल डेमोक्रेटिक पार्टीमा मतदाताको विश्वास पुन प्राप्त गर्दा देशमा रहेको कम जन्मदर र बढ्दो भूराजनीतिक तनावको सामना गरिरहेको देशलाई मार्गदर्शन गर्नुपर्ने जिम्मेवारी थपएिको छ।
नारा प्रिफेक्चरमा १९६१ मा जन्मिएकी ताकाइचीका राजनीतिमा आउनुअघि टिभी होस्ट र हेभी मेटल ब्यान्डमा ड्रमर समेत थिइन्। उनको राजनीतिक प्रेरणा १९८० को दशकमा अमेरिका जापान व्यापार विवादको चरम सीमाबाट आएको जापानी सञ्चार माध्यमले उल्लेख गरेका छन्।
१९९६ मा लिबरल डेमोक्रेटिक पार्टीमा सामेल भएपछि उनी १० पटक सांसद को रूपमा निर्वाचित भइसकेकी थिइन्। पार्टीको सबैभन्दा स्पष्टवक्ता रूढिवादी आवाजहरू मध्ये एकको रूपमा प्रतिष्ठा कमाउँदै उनले आन्तरिक मामिला तथा सञ्चार मन्त्री र आर्थिक सुरक्षा मन्त्री लगायत वरिष्ठ सरकारी भूमिकाहरू सम्हालिसकेकी छिन्।
निर्वाचित भएसगैँ स्वर्गीय शिन्जो आबेकी शिष्यको रूपमा ताकाइचीले एबेनोमिक्स आर्थिक दृष्टिकोणलाई पुनर्जीवित गर्ने वाचा गरेकी छिन्।
प्रकाशित: १९ आश्विन २०८२ १३:५७ आइतबार





