२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अनुमति बिना होर्मुज पार गरे कारबाही हुन्छ : इरान

इरानले होर्मुज जलमार्गबाट पूर्वअनुमति बिना हुने कुनै पनि समुद्री आवागमनविरुद्ध कडा चेतावनी दिएको छ।

इरानी रिभोलुसनरी गार्ड्सले बिहीबार आधिकारिक मार्गबाहेक हुने आवतजावतलाई अस्वीकार्य र जोखिमपूर्ण भन्दै त्यस्ता जहाजहरूमाथि कारबाही गरिने जनाएको छ।

इरान–अमेरिका युद्धविरामपछि होर्मुज जलमार्गको सञ्चालन र भविष्यबारे तेहरान र वासिङ्टनबीच मतभेद कायम रहेका बेला इरानको यो चेतावनी सार्वजनिक भएको हो। ऊर्जा आपूर्तिका दृष्टिले विश्वकै महत्त्वपूर्ण समुद्री मार्ग मानिने होर्मुज युद्धका क्रममा केही समय अवरुद्ध भएको थियो।

रिभोलुसनरी गार्ड्सले जारी गरेको विज्ञप्तिमा इरानले तोकेको समुद्री मार्ग मात्रै होर्मुज पार गर्ने आधिकारिक बाटो भएको उल्लेख गरिएको छ। अनुमति नलिई गरिने कुनै पनि आवागमन अस्वीकार्य र अत्यन्त खतरनाक हुने चेतावनी दिँदै त्यस्ता गतिविधिमाथि आवश्यक कारबाही गरिने जनाएको छ।

विज्ञप्तिमा केही अधिकारीहरूले प्रस्ताव गरेका भनिएका वैकल्पिक समुद्री मार्गहरूको समेत आलोचना गरिएको छ। इरानले आफ्नो तटसँगै रहेको समुद्री करिडोरलाई हाल एकमात्र मान्य मार्गका रूपमा मान्यता दिएको छ।

विश्वको कच्चा तेल र तरल प्राकृतिक ग्यासको करिब २० प्रतिशत आपूर्ति यही जलमार्ग हुँदै हुने गर्दछ। इरान र खाडी मुलुकहरूबीच रहेको यो समुद्री मार्ग सबैभन्दा साँघुरो स्थानमा करिब ३० किलोमिटर चौडा मात्र छ।

तेहरानले युद्धपछि समुद्री सेवा शुल्क लागू गर्ने योजना अघि सारेको छ। इरानको धारणा अनुसार जलमार्ग प्रयोग गर्ने जहाजहरूले सेवा शुल्क तिर्नुपर्नेछ। तर संयुक्त राज्य अमेरिकाले होर्मुजलाई अन्तर्राष्ट्रिय जलमार्ग भएको उल्लेख गर्दै कुनै शुल्क वा टोल स्वीकार्य नहुने बताउँदै आएको छ।

गत साता इरान र अमेरिकाबीच सम्पन्न युद्ध अन्त्यसम्बन्धी समझदारीअनुसार व्यापारिक जहाजहरूले आगामी ६० दिनसम्म निःशुल्क रूपमा जलमार्ग प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। तर त्यसपछिको व्यवस्थाबारे दुवै पक्षबीच अझै स्पष्ट सहमति हुन सकेको छैन।

यसैबीच होर्मुज जलमार्गसँग जोडिएका इरान र ओमानले जलमार्ग व्यवस्थापनसम्बन्धी सेवाको लागत र सम्भावित शुल्कबारे संयुक्त अध्ययन गर्ने घोषणा गरेका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसै साता खाडी मुलुकहरूको भ्रमणका क्रममा वासिङ्टनले कुनै पनि प्रकारको अतिरिक्त शुल्क वा समुद्री कर स्वीकार नगर्ने स्पष्ट पारेका थिए। होर्मुज जलमार्ग व्यवस्थापन र शुल्कसम्बन्धी विवादले आगामी वार्तामा थप महत्त्व पाउने सङ्केत देखिएको छ।

प्रकाशित: ११ असार २०८३ १७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App