२५ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान युद्ध : ट्रम्पद्वारा नागरिक पूर्वाधारमा आक्रमण गर्ने धम्की फिर्ता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इरानका पुल, पावर प्लान्ट र नागरिक लक्ष्यहरूमा आक्रमण गर्ने आफ्नो कडा धम्कीबाट पछि हटेका छन्। 

इरानले दुई हप्ताको युद्धविराम र रणनीतिक महत्त्वको 'स्ट्रेट अफ होर्मुज' पुनः खोल्ने प्रस्ताव गरेको भन्दै ट्रम्पले यस्तो जानकारी दिएका हुन्।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इरानले वार्ताका लागि व्यावहारिक आधार प्रस्तुत गरेको छ।’ उनले इरानको १० बुँदे शान्ति योजनाले फेब्रुअरी २८ देखि सुरु भएको युद्ध अन्त्य गर्न मद्दत गर्ने आशा व्यक्त गरे। उनले थपे, ‘दुई हप्ताको अवधिमा सम्झौतालाई अन्तिम रूप दिइनेछ र यसबीच इरानमाथिको बमबारी स्थगित गरिनेछ।’

यसअघि ट्रम्पले इरानले सम्झौता नगरे ‘आज राति सम्पूर्ण सभ्यता मर्नेछ’ भन्दै चेतावनी दिएका थिए। उनको सो टिप्पणीको चौतर्फी आलोचना भएको थियो। संयुक्त राष्ट्रसंघका लागि इरानी प्रतिनिधि अमिर-सइद इरावानीले ट्रम्पको धम्कीलाई ‘युद्ध अपराध र नरसंहारको उक्साहट’ भन्दै आक्रमण भएमा कडा जवाफ दिने बताएका थिए। 

युद्धका क्रममा हालसम्म इरानमा दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले एक करोड ४० लाख इरानीहरू जीवन बलिदान दिन तयार रहेको बताएका थिए। यसैबीच, इजरायली विमानहरूले इरानका पुल र रेलमार्गमा आक्रमण जारी राखेका छन् भने अमेरिकाले खर्ग टापुको सैन्य पूर्वाधारमा प्रहार गरेको छ।

कूटनीतिक पहलका रूपमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीरले ट्रम्पलाई समयसीमा बढाउन र इरानलाई जलमार्ग खोल्न आग्रह गरेका थिए। तनावकै बीच, इरान समर्थित समूहले गत साता अपहरण गरेकी अमेरिकी पत्रकार शेली किटल्सनलाई रिहा गरेको छ। एजेन्सी

प्रकाशित: २५ चैत्र २०८२ ०४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App