१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी युद्धविराम प्रस्ताव इरानद्वारा अस्वीकार : ट्रम्पको सर्तमा युद्ध नरोकिने जिकिर

इरानले अमेरिकी युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको सर्तमा युद्ध समाप्त नहुने बताएको छ। 

इरानी अधिकारीहरूका अनुसार अमेरिकाले मध्यस्थकर्ता देशहरू मार्फत पठाएको प्रस्ताव ‘धोखाधडी’ हो, जुन वास्तविकताभन्दा अलग र दबाब दिनका लागि मात्र ल्याइएको हो। इरानले युद्धको अन्त्य तब मात्र हुने बताएको छ, जब उसका पाँच प्रमुख सर्तहरू पूरा हुन्छन्। 

इरानले राखेका सर्तहरूमा आफू विरुद्धका आक्रमण र लक्षित हत्या पूर्ण रूपमा बन्द हुनुपर्ने, भविष्यमा युद्ध नहुने ठोस ग्यारेन्टी, युद्ध क्षतिको क्षतिपूर्ति, सबै मोर्चाहरूमा शत्रुताको अन्त्य र हर्मुज जलमार्गमा इरानको अधिकारको अन्तर्राष्ट्रिय मान्यता हुनुपर्ने उल्लेख छ।

यता, अमेरिकाले इरानलाई युद्ध अन्त्य गर्न १५ बुँदे योजना पठाएको छ। पाकिस्तानमार्फत तेहरान पुर्‍याइएको उक्त योजनामा इरानको आणविक कार्यक्रम रोक्ने, युरेनियम संवर्धन सीमित गर्ने, ब्यालिस्टिक र क्रूज मिसाइलमा नियन्त्रण गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्ने जस्ता सर्तहरू समावेश छन्। बदलामा इरानमाथिको आर्थिक प्रतिबन्ध पूर्ण वा चरणबद्ध रूपमा हटाउने प्रस्ताव अमेरिकाले गरेको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी नेताहरू सम्झौतामा पुग्न चाहे पनि आन्तरिक र बाह्य दबाबका कारण खुलेर आउन नसकेको दाबी गरेका छन्। उनले भने, ‘इरानी नेतृत्व सम्झौता गर्न चाहन्छ, तर आफ्नै जनता र अमेरिकाको खतरासँग डराउँछ।’ 

तर, इरानी विदेशमन्त्री अब्बास अराघचीले तेहरान र वासिङ्टनबिच हाल कुनै वार्ता नभएको स्पष्ट पारेका छन्। उनले विभिन्न माध्यमबाट पठाइने सन्देशलाई वार्ता मान्न नसकिने बताउँदै देशलाई भएको क्षतिको क्षतिपूर्ति आवश्यक रहेको बताए। 

यसैबिच, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जारी युद्धमा अमेरिकाले इरानको सैन्य क्षमतालाई निरन्तर कमजोर बनाउँदै लगेको दाबी गरेकी छिन्। उनका अनुसार हालसम्म ९ हजारभन्दा बढी लक्ष्यमा प्रहार गरिएको छ र इरानको मिसाइल तथा ड्रोन आक्रमण ९० प्रतिशतले घटेको छ। साथै, अमेरिकी सेनाले १४० भन्दा बढी इरानी नौसैनिक जहाजहरू नष्ट गरेको उनले बताइन्। एजेन्सी 

प्रकाशित: १२ चैत्र २०८२ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App