इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।
तर यसबारे अमेरिका र बहराइनले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्। इरानी सरकारी प्रसारकमार्फत शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त आक्रमण दक्षिणी इरानको सिरिकमा रहेको दूरसञ्चार टावरमाथि भएको हवाई आक्रमणको जवाफमा गरिएको उल्लेख छ।
आईआरजीसीका अनुसार उसको एयरोस्पेस फोर्सले बहराइनमा रहेको अमेरिकी राडार प्रणालीलाई निशाना बनाएको थियो। विज्ञप्तिमा उक्त कारबाहीलाई होर्मुज जलमार्गमा अमेरिकी पक्षबाट भइरहेका हवाई गतिविधि र तेल ओसारपसार रोक्न दिइएको चेतावनीका रूपमा व्याख्या गरिएको छ।
इरानले राडार प्रणाली ध्वस्त पारेको दाबी गरे पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन। अमेरिकी पक्षले पनि घटनाबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
इरानसँग आठ महिनादेखि जारी युद्धका क्रममा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र उपकरणहरू पटकपटक निशानामा पर्दै आएका छन्। यस क्षेत्रमा अमेरिकी सैन्य गतिविधिको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमान्डले गत महिना गर्मीयामदेखि होर्मुज जलमार्ग हुँदै खाडी मुलुकहरूबाट १५० करोड ब्यारेल तेल निर्यात गर्न सहयोग गरेको जनाएको थियो।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। त्यसपछि खाडी मुलुकहरूले इरानको जवाफी कारबाहीको सामना गर्नुपरेको छ। इरानले होर्मुज जलमार्ग हुँदै हुने जलयातायातमा प्रतिबन्ध लगाउनुका साथै अमेरिका समर्थित मुलुकका विमानस्थल, बन्दरगाह, ऊर्जा केन्द्र, महत्वपूर्ण संरचना र अमेरिकी सम्पत्तिलाई निशाना बनाएको थियो।
युद्ध सुरु भएलगत्तै अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो। त्यसपछि अगस्टमा वासिङ्टनले इरानको व्यापार र वित्तीय कारोबार ठप्प पार्ने उद्देश्यसहित आर्थिक दबाब बढाउने अभियान घोषणा गरेको थियो।
इरानविरुद्धको युद्धप्रति अमेरिकाभित्र असन्तुष्टि बढ्दै गएको छ। हालै सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले पराजय भोगेपछि वासिङ्टनले इरानमाथि थप आक्रमण गर्ने धम्कीबाट पछि हटेको देखिएको छ। एजेन्सी
प्रकाशित: २७ कार्तिक २०८३ १८:४५ शुक्रबार





