२० श्रावण २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रश्नपत्र र धर्मेन्द्र : विद्यार्थी हुँदा आन्दोलन, मन्त्री बन्दा राजीनामा

भारतका शिक्षामन्त्री धमेन्द्र प्रधानले निट प्रश्नपत्र चुहावट विवादको नैतिक जिम्मेवारी लिँदै आज राजीनामा दिएका छन्। उनीविरुद्ध  एक महिनादेखि दिल्लीको जन्तर मन्तरसहित देशका विभिन्न स्थानमा प्रदर्शन हुनुको साथै विपक्षी दलहरूले पनि लगातार राजीनामाको माग गर्दै आएका थिए। 

सामाजिक सञ्जाल एक्समार्फत राजीनामाको दिएको बताउँदै प्रधानले वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिले नउठाओस्, देशको एकता कायम रहोस् र कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नपरोस् भन्ने उद्देश्यले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको बताएका छन्। उनले विद्यार्थीहरू आन्दोलनभन्दा अध्ययन र भविष्य निर्माणमा केन्द्रित हुन सकून् भन्ने आफूले चाहेको समेत बताएका छन्। 

यस घटनाले प्रधानको राजनीतिक जीवनसँग जोडिएको करिब तीन दशकअघिको एउटा घटनालाई पनि पुनः चर्चामा ल्याएको छ। सन् १९९७ मा ओडिशामा प्लस टु परीक्षाको प्रश्नपत्र चुहावटविरुद्ध अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले गरेको आन्दोलनको नेतृत्व उनैले गरेका थिए। त्यतिबेला प्रहरीको लाठीचार्जमा उनी स्वयं घाइते भएका थिए। 

त्यही विषय अहिले पुनः चर्चामा आएको हो, किनभने करिब २९ वर्षपछि, निट प्रश्नपत्र चुहावटको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थीमाथि पनि प्रहरीले लाठीचार्ज गरेको छ। प्रदर्शनमा सहभागी धेरै विद्यार्थी घाइते भएका थिए। 

त्यतिबेला एबीभीपीका स्थानीय नेता रहेका तथा हाल भुवनेश्वरस्थित राजा मधुसूदन देव कलेज विद्यार्थी संघका अध्यक्ष प्रशान्त राउतले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै सन् १९९७ को आन्दोलनमा धर्मेन्द्र प्रधानले नेतृत्व गरेको र प्रहरी कारबाहीमा उनी पनि घाइते भएको पुष्टि गरेका छन्। राउटका अनुसार सन् १९८८ देखि १९९७ सम्म ओडिशामा पटक–पटक प्रश्नपत्र चुहिने गरेकाले त्यस अवधिलाई विद्यार्थीहरूले ‘प्रश्नपत्र चुहावटको दशक’ भनेर चिन्ने गरेका थिए। 

धर्मेन्द्र प्रधानको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। उनी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) निकट विद्यार्थी संगठन एबीभीपीसँग आबद्ध थिए। तालचेर कलेज विद्यार्थी संघको अध्यक्ष बनेका प्रधानले पछि उत्कल विश्वविद्यालय विद्यार्थी संघको अध्यक्ष पदमा पनि प्रतिस्पर्धा गरेका थिए, तर पराजित भएका थिए। 

विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिसम्म पुगेका प्रधान एबीभीपीका राष्ट्रिय महासचिव, भारतीय जनता युवा मोर्चाका अध्यक्ष हुँदै भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव बने। उनले उत्तर प्रदेश, बिहार र कर्नाटकलगायत राज्यमा पार्टी संगठन विस्तारमा सक्रिय भूमिका खेलेका थिए। 

उनको संसदीय यात्रा पनि निरन्तर अघि बढ्यो। सन् २००० मा पहिलो पटक ओडिशाको पाललहडा विधानसभा क्षेत्रबाट निर्वाचित भएका प्रधान २००४ मा लोकसभा सदस्य बने। त्यसपछि दुई कार्यकाल राज्यसभा सदस्य रहे। सन् २०१४ मा नरेन्द्र मोदी नेतृत्वको सरकारमा पेट्रोलियम राज्यमन्त्री बनेका उनी सन् २०२४ मा ओडिशाको सम्बलपुरबाट लोकसभा सदस्य निर्वाचित भई शिक्षामन्त्रीको जिम्मेवारीमा पुगेका थिए। 

एजेन्सी  

प्रकाशित: ९ श्रावण २०८३ १७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App