भारत र चीन प्रतिस्पर्धी नभएर सहयोगी साझेदार भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बताएका छन्। उनले छिमेकीबीचको सीमामा अवस्था सामान्य र स्थिर रहेको पनि बताए।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भारत–चीन सम्बन्धबारे प्रतिक्रिया दिँदै उक्त भनाइ राखेका हुन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र चीनसँग रुसको निकट सम्बन्ध रहेको उल्लेख गरेपछि चीनको यो भनाइ आएको हो। नेता पुटिनले बिहीबार विश्वका प्रमुख समाचार एजेन्सीका प्रमुखहरूसँगको कुराकानीका क्रममा यस्तो बताएका थिए।
'अहिले चीन–भारत सीमाको अवस्था सामान्य अवस्थामा छ र स्थिर छ। दुई पक्षबीच सुमधुर सञ्चार रहेको छ,' प्रवक्ता लिनले भने, 'दुई देश सहयोगी साझेदार हुन् र दुई देश यस धारणामा अडिग रहनुपर्छ। उनीहरूबीच द्वन्द्व, विवाद र नकारात्मक प्रतिस्पर्धा होइन एक अर्काको विकासका लागि अवसरको रूपमा लिनुपर्छ।'
उनले भने, 'दुवै मुलुकले द्विपक्षीय सम्बन्धलाई रणनीतिक, उच्च र दीर्घकालीन दृष्टिकोणबाट हेर्नुपर्छ। आपसी विश्वास बढाउनुपर्छ र सहयोग बढाउनुपर्छ। उनीहरूबीचको मतभेदहरूलाई उचित रूपमा समाधान गरिनुपर्छ र चीन–भारत सम्बन्धको सहज र स्थिर विकासलाई प्रवर्द्धन गरिनुपर्छ किनकि दुई देश सहयोगी साझेदार हुन्।'
पाकिस्तानसँग चीनको निकट सम्बन्धप्रति भारतको चासोबारे लिनले भने, 'बेइजिङले भारत र पाकिस्तान दुवैलाई वार्ता र परामर्शको माध्यमबाट मतभेदहरू समाधान गर्न र यस क्षेत्रलाई शान्त र स्थिर राख्न समर्थन गर्दछ।'
उनले यी तीन देश उदीयमान अर्थतन्त्र भएको बताए। साथै, राम्रो सम्बन्ध कायम गर्नु तीन देशको हितमा मात्र नभइ विश्व शान्ति, सुरक्षा र स्थायित्वका लागि पनि यो आवश्यक रहेको औंल्याए।
प्रकाशित: २६ जेष्ठ २०८३ ०९:३२ मंगलबार





