भेनिजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने ५० हजारभन्दा बढी मानिस बेपत्ता छन्।
राजधानी काराकाससहितका मुख्य क्षेत्रहरूमा ठूला आवासीय भवनहरू तासको पत्ताझैँ खप्टिएर ढलेका छन्। भग्नावशेषभित्र सयौँ मानिस पुरिएको आशंका गरिएको छ।

भेनिजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले हालसम्म ९२० जनाको शव फेला परेको पुष्टि गरे। प्रभावित क्षेत्रमा व्यापक रूपमा खोजी तथा उद्धार कार्य जारी रहे पनि अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजीएस) को सम्भावित क्षति सम्बन्धी सूचक मोडलिङले मृतकको संख्या आगामी दिनहरूमा अझै भयानक रूपमा बढ्न सक्ने देखाएको छ।
भूकम्पको पहिलो धक्का बुधबार साँझ स्थानीय समयअनुसार ६ बजेपछि सन फेलिपे शहर नजिकै ७.२ म्याग्निच्युडको महसुस गरिएको थियो। त्यसको मात्र ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को विनाशकारी धक्का गएको थियो।
सिस्मोलोजिकल रिसर्च सेन्टर अष्ट्रेलियाका मुख्य वैज्ञानिक एडम पास्कालका अनुसार यो एक दुर्लभ ‘डबलेट’ भूकम्प हो। यसमा सामान्य भूकम्पभन्दा दोब्बर बढी ऊर्जा निष्कासन भएको थियो।
अमेरिकी सञ्चार माध्यम सिएनएनको भिडियो विश्लेषणले विनाशको मुख्य कारण आवासीय भवनहरू ‘प्यानकेक कोल्याप्स’ शैलीमा ध्वस्त हुनु रहेको देखाएको छ। सेन्ट लुइस फायर डिपार्टमेन्टका पूर्व कमान्डिङ अफिसर तथा उद्धार टोलीका विज्ञ ग्रेग फाभ्रेका अनुसार यस प्रकारको दुर्घटनामा भवनका तलाहरू एकमाथि अर्को गर्दै सिधै तल खप्टिन्छन्, जसले गर्दा तल्लो तलामाथि ठूलो भार र दबाब पर्छ।

यसअघि सन् २०२३ को टर्की भूकम्प र १९८९ को क्यालिफोर्निया भूकम्पमा पनि यस्तै प्रकृतिको विनाश देखिएको थियो। दक्षिण अमेरिकामा पर्याप्त भूकम्पीय प्रतिरोधात्मक क्षमता नभएका कमजोर संरचनाहरूका कारण क्षति बढेको विज्ञहरूको विश्लेषण छ।
अमेरिका, मेक्सिको र जापान जस्ता मुलुकको तुलनामा भेनिजुएलामा भूकम्पको पूर्वसूचना दिने सेन्सर प्रणाली छैन। यसले गर्दा मानिसहरू पूर्ण रूपमा तयारीविहीन अवस्थामा परे।
राजधानी काराकासका ३१ वर्षीय स्थानीय जियोर्डी आर्डिलाले भने, ‘हामीसँग भूकम्पीय पूर्वतयारीको संस्कृति छैन। बिजुली गएपछि मात्र हामीले खतरा महसुस गर्यौँ।’ केही नागरिकहरूले भने मोबाइलमा गुगलको एन्ड्रोइड भूकम्प चेतावनी प्रणालीमार्फत कम्पन सुरु हुनु केही समयअघि र पछि सूचना पाएको बताएका छन्।

भूकम्पको समयमा आफ्नी आमाको फ्ल्याटमा जाँदै गरेका १७ वर्षीय विद्यार्थी रोबर्टो क्विन्टेरोले आफ्नो घर अगाडिको विशाल आवासीय भवन तासको पत्ताझैँ ढलेको प्रत्यक्ष देखेका थिए। उक्त दृश्यले आतङ्कित बनेकी उनकी आमालाई प्यानिक अट्याक भएपछि घरभित्रै थुनिएकी थिइन्। पछि छिमेकीहरूको सहयोगमा उनीहरू कार पार्कमा शरण लिन सफल भए।
क्विन्टेरोले भने, ‘हामी अहिले भवनभित्र पस्न सुरक्षित छ कि छैन भनेर नागरिक सुरक्षा विभागको निर्देशन पर्खिरहेका छौँ।’

प्रभावित क्षेत्रमा भारी मेसिनरी उपकरणहरूको चरम अभावका कारण उद्धार कार्य सुस्त बनेको छ। मानिसहरू खाली हातले भग्नावशेष पन्छाउन बाध्य छन्। दोस्रो ठूलो शहर माराकाइबोबाट आफ्नी छोरीको खोजीमा नौ घण्टाको यात्रा तय गरी राजधानी काराकास आइपुगेकी ६० वर्षीया आमा नुबिया गोमेजले आँसु पुछ्दै भनिन्, ‘मैले छोरीलाई मेसेज पठाएकी थिएँ तर उत्तर आएन। पछि इन्स्टाग्राममा भवन भत्किएको भिडियो देखेर म सिधै यहाँ आएँ।’
स्थानीय हार्डवेयर व्यवसायी आर्डिलाले कर्डलेस रोटरी ह्यामर, ग्राइन्डर र स्लेजह्यामर जस्ता आफ्नै औजारहरू ल्याएर उद्धारमा सघाइरहेका छन्। उनले थपे, ‘हामीले यो कठिन परिस्थितिबाट देशलाई सँगै मिलेर बाहिर निकाल्नुपर्छ।’
भौगर्भिक बनोटका आधारमा भेनिजुएला दक्षिण अमेरिकाको सबैभन्दा सक्रिय टेक्टोनिक सीमामा अवस्थित छ। यहाँ क्यारिबियन प्लेट र दक्षिण अमेरिकी प्लेट ठोक्किने गर्छन्।
यस क्षेत्रमा इतिहासमै ठूला भूकम्पहरू गएका छन्। यसअघि सन् १८१२ मा यहाँको बोकोनो फल्ट प्रणालीमा आएको भीषण भूकम्पमा परी झण्डै ३० हजार मानिसले ज्यान गुमाएका थिए।
प्रकाशित: १३ असार २०८३ १४:२५ शनिबार





