पाकिस्तानको प्रमुख गुप्तचर निकाय इन्टर-सर्भिसेज इन्टेलिजेन्स (आईएसआई) का पूर्वप्रमुख लेफ्टिनेन्ट जनरल (रिटायर्ड) फैज हमीदलाई सैन्य अदालतले १४ वर्षको कठोर कारावासको सजाय सुनाएको छ। यो फैसला फील्ड जनरल कोर्ट मार्शल (एफजीसीएम) को १५ महिनासम्म चलेको सुनुवाइपछि आएको हो।
हामीदलाई राजनीतिक गतिविधिमा संलग्नता, आधिकारिक गोप्यता ऐनको उल्लङ्घन (जसले राज्यको सुरक्षा र हितलाई हानि पुर्यायो), शक्ति तथा सरकारी स्रोतसाधनको दुरुपयोग र व्यक्तिहरूलाई अनुचित हानि पुर्याउने जस्ता चार मुख्य आरोपहरूमा दोषी ठहराएको छ। बिहीबार घोषणा गरिएको यो सजाय पाकिस्तान आर्मी ऐनअन्तर्गत जारी गरिएको हो।
यी हुन् चार मुख्य आरोप
१. राजनीतिक गतिविधिमा संलग्नता: हामीदलाई राजनीतिक आन्दोलनहरूलाई उक्साउने र राजनीतिक तत्वहरूसँग मिलेर देशमा अस्थिरता सिर्जना गर्ने आरोप लागेको छ। यो पाकिस्तानी सेनाको कडा नियमविपरीत मानिन्छ।
२. आधिकारिक गोप्यता ऐन (अफिसियल सिक्रेट्स एक्ट) को उल्लङ्घन: गुप्तचर जानकारी चुहावट गरी राज्यको सुरक्षा र हितलाई प्रतिकूल प्रभाव पार्ने कार्य।
३. शक्ति र सरकारी स्रोतसाधनको दुरुपयोग: पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने र सरकारी साधनको गलत प्रयोग।
४. व्यक्तिहरूलाई अनुचित हानि पुर्याउने: गलत तरिकाले अरूलाई हानि पुर्याउने अपराध।
यी आरोपहरूबाहेक हामीदको राजनीतिक आन्दोलनहरूमा संलग्नता र अन्य मुद्दाहरूमा छुट्टै कारबाही भइरहेको पाकिस्तानी सेनाले जनाएको छ।
सुनुवाइको प्रक्रिया र अधिकारहरू
कोर्ट मार्शलको कारबाही १२ अगस्ट २०२४ मा सुरु भएको थियो र १५ महिनासम्म चलेको थियो। त्यस क्रममा हामीदलाई सबै कानुनी अधिकार दिइएको दाबी गरिएको छ। आफैंले छान्ने वकिल टोलीको व्यवस्था पनि समावेश थियो। तथापि टोलीले उनलाई बचाउन सकेन। अब हामीदसँग सैन्य अपिल फोरममा यो निर्णयविरुद्ध अपिल गर्ने अधिकार छ। विश्लेषकहरूका अनुसार उनले राहत पाउने सम्भावना कम छ।
हामीदको पृष्ठभूमि र इमरान खानसँग सम्बन्ध
फैज हमीदलाई पूर्वप्रधानमन्त्री इमरान खानका निकट व्यक्ति मानिन्छ। सन् २०१९ मा इमरान खानले तत्कालीन आईएसआई प्रमुख लेफ्टिनेन्ट जनरल आसिम मुनीर (वर्तमान सेना प्रमुख) लाई हटाएर हामीदलाई सो पदमा नियुक्त गरेका थिए। खानको कार्यकालमा हामीदलाई सेना प्रमुख बनाउने तयारी गरेको समाचार पनि सार्वजनिक भएका थिए, जसलाई इमरानले खण्डन गर्दै आएका छन्। नोभेम्बर २०२२ मा जनरल मुनीर सेना प्रमुख बनेपछि हामीदले आईएसआई प्रमुखको पदबाट राजीनामा दिएका थिए।
अहिले इमरान खान आफैँ जेलमा छन्। त्यस बेलाका सेना प्रमुख जनरल कमर जावेद बाजवामाथि भने कुनै कारबाही गरिएको छैन। सोही कारण हामीदको यो सजायलाई प्रतिशोधको रूपमा हेरिएको छ। इमरानको सेनासँग सम्बन्ध बिग्रिएको समयमा यो फैसलाले पाकिस्तानी सेनाले कुनै पनि वरिष्ठ अधिकारीलाई राजनीतिमा संलग्न हुन नदिने संकेत गरेको चर्चा भइरहेको छ।
अफगानिस्तान घटना र तालिबानसँग सम्बन्ध
हामीद चार वर्षअघिको एक घटनाका कारण चर्चामा आएका थिए। सन् २०२१ अगस्टमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि तालिबानले काबुल सहित देशभर कब्जा गरेको थियो। त्यसको केही हप्तापछि हामीद काबुल पुगेका थिए। उनले पाकिस्तानी अधिकारीहरूसँग होटलमा चिया पिउँदै गरेको तस्बिर भाइरल भएको थियो। यो घटनालाई पाकिस्तानको तालिबान नीतिको प्रतीक मानियो।
अहिले पाकिस्तान र तालिबानबिच सम्बन्ध तनावपूर्ण छ। गत नोभेम्बरमा पाकिस्तानी विदेशमन्त्री इशाक डारले काबुलको त्यो 'चियाको कप' पाकिस्तानका लागि महँगो साबित भएको बताएका थिए। उनले त्यस्ता गल्तीहरू नदोहोर्याउन चेतावनी पनि दिएका थिए। एजेन्सीहरूको सहयोगमा
प्रकाशित: २६ मंसिर २०८२ १२:२२ शुक्रबार





-600x400.jpg)